बालेनले भत्काएको न्यूरोडको पीच सडक विभागले टाल्दै

बालेनले भत्काएको न्यूरोडको पीच सडक विभागले टाल्दै


काठमाडौं । काठमाडौं महानगरले फुटपाथ बढाउन भत्काएको न्यूरोडको पीच सडक विभागले टाल्न सुरू गरेको छ । मेयर बालेन शाहको निर्देशनमा जेठ १२ गते इन्द्रचोकदेखि जुद्धशालिकतर्फको विशाल बजारअगाडि पीच काटिएको थियो ।

सडक डिभिजन कार्यालयले आफ्नो क्षेत्राधिकारको सडकमा हात हालेको भन्दै महानगरलाई दुई दिनभित्र पुन:स्थापना गर्न १६ गते अल्टिमेटम दिएको थियो । महानगरले नबनाएपछि सडक विभागले आज कर्मचारी र मजदुर खटाएर उक्त पीच टाल्न सुरू गरेको हो ।

पार्किङ खाली गराएपछि सडक साँघुरो पार्ने र फुटपाथ फैलाउने योजनाअनुरूप मेयर शाहले सडक काट्न थालेका थिए । त्यसक्रममा डिभिजन कार्यालयले हस्तक्षेप गरेपछि दुई निकायबीच टकराव बढेको थियो ।

न्यूरोडको सडक काट्ने काम डिभिजनले रोकेकै दिन बालेनले रिङरोड विस्तारमा ढिलाइ गरेको भन्दै सडकको धुलो संकलन गरेर विभाग अगाडि फालेका थिए भने मन्त्रीको घरमा समेत फाल्ने चेतावनी दिएका थिए ।

न्यूरोडको सडक उसै पनि साँघुरो रहेको भन्दै थप चौडाइ कटाएर फुटपाथ बनाउँदा सवारी आवागमनमा अवरोध हुने भन्दै केही दिनअघि कार्यपालिका बैठकमा वडाध्यक्ष चिनीकाजी महर्जन र मेयर शाहबीच चर्काचर्की नै परेको थियो ।