अध्यागमन विभागअन्तर्गतका १५ वटा कार्यालयलाई छुट्टै पोसाकको व्यवस्था

अध्यागमन विभागअन्तर्गतका १५ वटा कार्यालयलाई छुट्टै पोसाकको व्यवस्था


काठमाडौं । कर्मचारीको पहिचान खुल्ने गरी अध्यागमन विभागसहित विभागअन्तर्गतका १५ वटा कार्यालयका लागि छुट्टै पोसाकको व्यवस्था गरिएको छ । यही जेठ १६ गते मन्त्रीस्तरीय निर्णयबाट स्वीकृति भएकसँगै विभागले छुट्टै पोसाकको व्यवस्था गरेको हो ।

अध्यागमनमा कार्यरत कर्मचारीको पोसाकबाट पहिचान गर्न सकियोस् भन्ने उद्देश्यले छुट्टै व्यवस्था गरिएको अध्यागमन विभागले जनाएको छ ।

अध्यागमन विभागले सिफारिस गरेको कर्मचारीको पोसाकबारे गृह मन्त्रालयले स्वीकृत गरेको हो । गृहमन्त्रीस्तरीय निर्णयबाट स्वीकृत भएसँगै अध्यागमन विभाग र मातहतका सबै कर्मचारीले अनिवार्य तोकिएको पोसाक लगाउनुपर्ने गृह सचिव एकनारायण अर्यालले बताए ।

‘पोसाकले व्यक्तित्व झल्काउनुका साथै कर्मचारी पहिचानसमेत गराउँछ । सरकारी कर्मचारीको हकमा पोसाकले पहिचान, अस्थित्व र गरिमा राख्दछ’, अर्यालले भने, ‘सेवामा रहँदा अनिवार्य तोकिएको पोसाक लगाउँदा एकरूपता आउनुका साथै अनुशासित पनि बनाउँछ । यो व्यवस्थाले कर्मचारीलाई जिम्मेवार बनाउन र सामूहिक भावनाको विकास गर्ने विश्वास गृहले लिएको छ ।’

निजामती कर्मचारीको छुट्टै पोसाक तोकिएको भन्दै अर्यालले विमानस्थलमा कार्यरत कर्मचारीका लागि पनि छुट्टै पोसाक हुनुपर्ने सुझावपछि गृह मन्त्रालयले अध्यागमन अधिकारीका लागि सो व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।

अध्यागमन सुधारका लागि गृहमन्त्रालयले विभिन्न सुधारका योजना अघि सारिरहेको सचिव अर्यालले बताए । उनका अनुसार बिचौलियासँगको सेटिङ भत्काई घुसखोरी रोक्न विभागदेखि कार्यालयसम्मका कर्मचारी परिवर्तन गर्ने, सेवाग्राहीलाई सास्ती दिएको भेटिए तत्काल हटाइ कारबाही सुरु गरिएको छ ।