डोनाल्ड ट्रम्पले खोले टिकटक अकाउन्ट, एकदिनमै ३० लाख फलोअर्स

डोनाल्ड ट्रम्पले खोले टिकटक अकाउन्ट, एकदिनमै ३० लाख फलोअर्स


अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प सोसल मिडिया प्लाटफर्म टिकटकमा जोडिएका छन् । आफू राष्ट्रपति हुँदा चिनियाँ एप टिकटकमाथि प्रतिबन्ध लगाउने प्रयास गरेका ट्रम्पले अन्ततः शनिबार टिकटकमा खाता खोलेका हुन् ।

टिकटकमा उनको प्रवेश धमाकेदार रह्यो । टिकटकमा आएको केही घण्टामै ट्रम्पका फलोअर्सको संख्या १० लाख पुगेको थियो भने २४ घण्टाभित्र ३० लाख फलोअर्स पुगेका थिए ।

उनको टिकटक अकाउन्ट @realdonaldtrump मा यो समाचार तयार पार्दासम्म फलोअर्सको संख्या ४५ लाख पुगेको छ ।

उनले आफ्नो टिकटकमा अहिलेसम्म एउटा मात्रै भिडियो राखेका छन् । Launching my Tiktok at @UFC 302 हालसम्म ७ करोड २९ लाखले हेरिसकेका छन् ।

बाइडेन प्रशासनले अमेरिकीहरुबीच निकै लोकप्रिय प्लाटफर्म टिकटकमाथि प्रतिबन्धको तयारी गरिरहेका बेला टिकटकमा ट्रम्पको प्रवेशलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

उनले आगामी राष्ट्रपतीय चुनावमा टिकटकलाई आफ्नो चुनावी फाइदाका लागि उपयोग गर्न लागेको विश्लेषण गरिएको छ ।

सन् २०२० मा अमेरिकी राष्ट्रपति रहँदा ट्रम्पले टिकटकले अमेरिकी राष्ट्रिय सुरक्षामा खतरा पैदा गरेको भन्दै प्रतिबन्ध लगाउने एउटा कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । तर, उक्त कदमलाई अमेरिकी अदालतले रोकिदिएको थियो ।

अमेरिकामा टिकटक प्रयोगकर्ताको संख्या १७ करोड छ । अमेरिकी सरकारले हालै एउटा कानुन पारित गरेको छ । जस अनुसार टिकटकको मातृ कम्पनी बाइटडान्सले अमेरिकामा टिकटकलाई बिक्री गर्नुपर्नेछ । अन्यथा अमेरिकामा टिकटकमाथि प्रतिबन्ध लाग्नेछ।

उता ट्रम्पले भने टिकटकमाथि प्रतिबन्ध लगाउने बाइडेन प्रशासनको कदमको आलोचना गरेका छन् ।

स्मरण रहोस् आगामी राष्ट्रपतीय चुनावमा ट्रम्पका प्रतिस्पर्धी तथा हालका राष्ट्रपति जो बाइडेनको पनि टिकटक अकाउन्ट रहेको छ । तर, उनका फलोअर्सको संख्या जम्मा साढे तीन लाख मात्रै छन् ।

– एजेन्सी