गुँयली फल पाकेपछि कालीलेकमा चहलपहल

गुँयली फल पाकेपछि कालीलेकमा चहलपहल


पोखरा । पोखरा महानगरपालिका-१६ अर्मलेस्थित कालीलेकमा हिजोआज सर्वसाधारणको चहलपहल बढेको छ । वनभरि लटरम्मै पाकेको गुँयली फल टिपेर खानेको सङ्ख्या बढेपछि कालीलेकमा चहलपहल बढेको हो ।

स्थानीय भाषामा ‘मल्लिडो’ को नामले चिनिने गुँयली फल स्वादिलो हुन्छ । बुट्यान एवं झाडीदार रुखमा फल्ने यो फलमा भिटामिन पाइने विश्वासले पनि फल खान आउनेको भीड बढेको स्थानीय बलायखर्ककी उमा पौडेल बताउँछिन्। सत्रखर्क कालीलेक सामुदायिक वन क्षेत्रमा पर्ने शिशादेखि नेटा, बुढीगान्नी, क्रेटो, लोला, बलायलगायतका जङ्गलमा लटरम्म पाकेको गुँयलीका कारण मानिसका आउजाउ बढेको उनले बताइन् ।

समुद्री सतहबाट करिब एक हजार आठसयदेखि दुई हजार दुईसय मिटरको उचाइमा पाइने गुयँलीका बोटहरु फल टिप्नेक्रममा काटिएका छन् । यसको बाहिरी बोक्रा खैरो र गुँदी रातो रङको हुन्छ । फललाई सिधै टिपेर खाने गरिन्छ । पौडेलले भनिन्, “यसपटक पाँच वर्ष पछि मात्र गुँयली फलेको हो, खडेरीको कारण यस वर्ष बाक्लो फल लागे पनि दाना सानो छ ।” बोटमा काँडा हुने भएकाले टिप्नका लागि मानिसहरुले हाँगा र रुखैसमेत काट्ने गर्दा गुँयलीको बोट मासिने खतरा रहेको उनको भनाइ छ ।

अर्मलाकोटभन्दा माथि नेटामा बाख्रापालन व्यवसाय गर्दै आएका सुरेन्द्र सुवेदीका अनुसार गुँयली पाकेपछि यसका पारखीहरु स्वाद लिन पोखरा बजारदेखि आउने गर्छन् । उनले भनिन् “यस क्षेत्रमा गुँयली मात्र होइन, जेठको अन्तिम सातादेखि साउन महिनासम्म अर्गानिक निउरो टिप्ने र निगालोको टुसा भाँच्नेको भीडनै लाग्ने गर्दछ ।” त्यस्तै सिलाजित, सतुवा, चिराइतो, सिकारी लहरो, कुरिलो, पाखनवेदलगायतका महत्वपूर्ण जडीबुटी तथा बाघ, भालु, मृग, थार घोरल र मुनाललगायतका वन्यजन्तु एवं जराचुरुङ्गी यहाँको वनक्षेत्रमा पाइने उनको भनाइ छ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ नेपालका गण्डकी प्रदेश सदस्य एवं कृषि सञ्जाल पोखरा–१६ का अध्यक्ष जीतबहादुर बस्नेतले गुँयली जत्तिको स्वादिष्ट फल यसभन्दा अघि टिपेर नखाएको बताए । स्थानीयले कालीलेकबाट टिपेको गँुयली बजारमा प्रतिमाना रु एक सयका दरले बिक्री गर्दछन् ।

गुयँली विशेष गरी बागलुङ, म्याग्दी, ताप्लेजुङ, पाँचथर, इलाम सङ्खुवासभा, तेह्रथुमलगायतका जिल्लामा पाइन्छ । जलवायु परिवर्तन, वन विनास, डढेलोलगायतका कारणले गुँयली जस्ता फलफूल तथा वनस्पति उपलब्धतामा कमी हुँदै गएको पोखरा महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए ।