जलवायु परिवर्तनको असर न्यूनिकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपति पाैडेलकाे अपिल

जलवायु परिवर्तनको असर न्यूनिकरणमा योगदान गर्न विश्व समुदायलाई राष्ट्रपति पाैडेलकाे अपिल


काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको असर न्यूनीकरणमा योगदान गरेर भावी पुस्ताको भविष्य सुरक्षित गर्न विश्व समुदायलाई अपिल गरेका छन् ।

विश्व वातावरण दिवसको अवसरमा राष्ट्रपति भवनमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले विश्वव्यापी उष्णताको बढ्दो प्रभावबाट तिव्ररुपमा हिमशृङ्गखलाहरू र हिमतालहरूमा आएको परिवर्तनले तल्लो तटीय क्षेत्रमा बाढी पहिरो लगायतको प्रकोपहरूले त्यस क्षेत्रका वासीन्दाहरूका लागि आधारभूत जीवनयापनका चुनौतीहरु थपिँदै गएको पनि उल्लेख गरे।

उनले भने–‘जलवायु परिवर्तन, प्रदूषण र जैविक विविधताको ह्रास जस्ता अन्तरसम्बन्धित संकटहरूसँग नेपाललगायत सम्पूर्ण विश्व जुधिरहेको छ । एक्लो प्रयासले यी संकटहरू समाधान हुन सक्दैनन् भन्ने कुरामा हामी प्रष्ट छौं ।’

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको मूल नारा ‘हाम्रो भूमि, हाम्रो भविष्यः भूमि पुनस्र्थापना, मरुभूमिकरण र खडेरी प्रतिरोध’ ले हाम्रा अगाडि रहेका साझा चुनौती र अवसरहरूलाईसमेत प्रष्ट पारेको उल्लेख गरे।

उनले गत वर्ष संयुक्त राष्ट्रसंघका महासचिव श्री एन्टोनियो गुटेरसले नेपालको भ्रमणका अवसरमा भनेको स्मरण गर्दै भने–‘नेपालका हिमालले भोग्नु परेको संकटका लागि विश्वसामु अझ जोडदार ढंगले प्रस्तुत गर्नु भएको थियो । वहाँकै शब्दमा जलवायु परिवर्तनको उच्च जोखिममा रहेका नेपाललगायत अन्य पर्वतीय मुलुकहरु एउटा विश्वव्यापी संकटको भूमरीमा फसेका छन् जस्को सृजनामा उनीहरुको आफ्नै योगदान नगण्य छ । म आव्हान गर्न चाहन्छु की यस गम्भिर मुद्दालाई सम्बोधन गर्न विश्व समुदाय एकत्रित भएर लागौँ । हामीलाई अझै ढिला गर्ने सुविधा छैन ।’

जलवायु परिवर्तनको विश्वव्यापी मुद्दाहरूको सम्बोधनमा नेपालले राष्ट्रियस्तरमा विभिन्न कार्यहरू गर्दै आएको बताउदै सरकारको नीति तथा कार्यक्रममा घोषणा गरिएको राष्ट्रपति जलवायु परिवर्तन व्यवस्थापन कार्यक्रमले जलवायु परिवर्तनका नकरात्मक असर न्यून गर्दै अनुकुलन क्षमता वृद्धि गरी उत्थानशीलता हासील गर्न सहयोग गर्ने बताए ।

उनले सो कार्यक्रमले उच्च हिमशृङखला र नदी प्रणालीलाई जीवन्त राख्दै हिमाल, पहाड र तराई क्षेत्रमा जलवायु परिवर्तनबाट परेका असरलाई एकिकृत र सन्तुलित रुपमा सम्बोधन हुने बताए ।

राष्ट्रपति पौडेलले विश्व वातावरण दिवसको यस अवसरलाई जीवन, समृद्धि, र आशाको शक्तिशाली प्रतीकको रूपमा बिरुवा रोपेर मनाउँन गइरहेको उल्लेख गर्दै यो एउटा प्रतीकात्मक इशारा हो जसले भावी पुस्ताहरूका लागि वातावरण संरक्षण गर्ने हाम्रो अटल समर्पणलाई झल्काउँने बताए । राष्ट्रपति पौडेलले वातावरण संरक्षणका लागि चौतारी र पोखरीको हाम्रो पुरानो सभ्यताको जगेर्ना गर्न आवश्यक रहेको बताए ।

सो क्रममा राष्ट्रपति भवन परिसरमा राष्ट्रपति पौडैलले पलाँसको बिरुवा रोपेर बृक्षारोपरणको शुभारम्भ गरेका थिए भने उपराष्टपति रामसहाय यादव, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण दाहालले बृक्षारोपरण गरेका थिए ।

कार्यक्रममा मुख्य सचिव बैकुण्ठ अर्याल, प्रधानसेनापति प्रभुराम शर्मा, सुरक्षा निकायका प्रमुखहरू, विभिन्न देशका राजदुत तथा दातृ निकायका प्रमुखहरूको उपस्थिति रहेको थियो ।