दुई वाणिज्य बैंकले अग्राधिकार सेयरका लागि दिए राष्ट्र बैंकमा निवेदन

दुई वाणिज्य बैंकले अग्राधिकार सेयरका लागि दिए राष्ट्र बैंकमा निवेदन


काठमाडौँ । एनआइसी एसिया र नबिल बैंकले ५/५ अर्बको अग्राधिकार ( प्रिफरेन्सियल) सेयर जारी गर्नका लागि नेपाल राष्ट्र बैंकमा निवेदन दिएका छन् ।

चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा बैंक तथा वित्तीय संस्थाहरूको पुँजी कोष थप सुदृढ गर्ने सम्बन्धमा अतिरिक्त उपकरणहरू प्रयोगमा ल्याउन आवश्यक सहजीकरण गर्ने विषय उल्लेख गरेपछि बैंकहरुले पुँजी जुटाउने प्रक्रिया अघि बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका नियम विभाग प्रमुख (कार्यकारी निर्देशक) गुरु प्रसाद पौडेलले हालसम्म एनआइसी एसिया बैंक र नविल बैंकले अग्राधिकार सेयरका लागि आवेदन दिएको बताएका छन् ।

एनआइसीले भर्खरै मात्र अनुमति मागे पनि नबिलले भने करिब २ महिना अगाडी नै राष्ट्र बैंकमा निवेदन दिएको पौडेलले बताए ।

अग्राधिकार सेयर जारी पश्चात् एनआईसी एसियाले वार्षिक ८.५ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ भने नबिलले ८ प्रतिशत प्रतिफल दिने प्रस्ताव गरेको छ । अहिले एनआईसी एशियाको पुँजी कोष दबाबमा छ । बैंकको प्राथमिक पुँजी अनुपात ८.२५ प्रतिशत मात्र छ ।

पुँजी कोष कम भएकै कारण यस बैंकले अघिल्लो वर्ष लाभांश वितरण गर्न पाएको थिएन । यस पटक पनि लाभांश वितरण गर्न पाउनेछैन । कुनै एक त्रैमासमा मात्र पनि पुँजी कोष दबाबमा परे सो आर्थिक वर्षको लाभांश बैंकहरुले घोषणा गर्न पाउँदैनन् ।

कम्पनीले निष्कासन गरेको शेयरमध्ये प्रतिफल तथा पुँजी फिर्तामा अग्र अधिकार हुने शेयरलाई अग्राधिकार शेयर अर्थात् प्रिफरेन्सियल शेयर भनिन्छ । अग्राधिकार सेयर धनीलाई लाभांश बाँडिसकेपछि मात्र साधारण शेयर बापतको लाभांश बाँडिन्छ ।

कुनै पनि कम्पनीले तोकिएको दरमा लाभांश वितरण गर्ने गरी अग्राधिकार शेयर जारी गर्दछ । साधारण शेयर बापतको लाभांश कम वा बढी हुने सम्भावना रहन्छ भने अग्राधिकार शेयरको लाभांश सधैँ एउटै हुने सुनिश्चित हुन्छ । यद्यपि कम्पनीले नाफा गर्न सकेन भने अग्राधिकार सेयर धनीले पनि लाभांश पाउँदैनन् ।

नेपालमा दुई कम्पनी एभरेष्ट बैंक र कृषि विकास बैंकले मात्र अग्राधिकार शेयर जारी गरेका छन् । एभरेष्ट बैंकको ७ प्रतिशत कन्भर्टेबल शेयर थियो । अहिले भने त्यो शेयर सर्वसाधारण शेयरमा परिवर्तन भइसकेको छ ।

कृषि विकास बैंकको ५ अर्ब ४३ करोड बराबरको अग्राधिकार शेयर रहेको छ । यो शेयर कम्पनी रहुन्जेलसम्म रहने गर्दछ । यस्तो शेयरलाई ननरिडिबेल अग्राधिकार शेयर भनिन्छ ।