यार्चा टिप्ने गएका सुदूरपश्चिम र कर्णालीमा १४ जनाको मृत्यु

यार्चा टिप्ने गएका सुदूरपश्चिम र कर्णालीमा १४ जनाको मृत्यु

बझाङमा १० वर्षको अवधिमा २ सय बढीको गयो ज्यान


बझाङ । बझाङको सुर्मा गाउँपालिका–५ सैनगाउँका ३१ वर्षीय दीपेन्द्र बोहरा २३ वर्षीया श्रीमती रविनासहित यार्चा टिप्न जेठ १६ मा घरबाट निस्केका थिए । डेढ महिनाजति धौलढुंगा लेकमा बस्ने र यार्चा टिप्ने उनीहरूको योजना थियो । धौलढुंगा पुगेको भोलिपल्टै बिहानै यार्चा खोज्न हिँडेका दीपेन्द्रको हिउँमा चिप्लिएर घटनास्थलमै ज्यान गयो । यार्चाको कमाइबाट घर बनाउँदा लागेको ऋण तिर्ने दम्पतीको योजना श्रीमान्को निधनले चकनाचुर भयो, रविनाको जिन्दगीमै निस्पट्ट अँध्यारो छायो । बझाङ सुर्माको यो दुःखद घटनाको भोलिपल्ट दार्चुलाको अपी हिमाल गाउँपालिका–३ काँटैको दोनथे पाटनमा सोही गाउँपालिकाको राताभिटाका २४ वर्षीय मिलन कार्कीको मृत्यु भयो । दिनभर यार्चा खोजेर साँझ बास बस्न फर्कंदै गरेका मिलन भीरबाट लडेका थिए । यी दुई घटनाको केही दिनअघि मात्रै रुकुम पश्चिमको आठबीसकोट नगरपालिका–४ गोतामकोट, विष्टगाउँकी २२ वर्षीया जमुना विष्टले पनि ज्यान गुमाएकी थिइन् ।

जेठ दोस्रो साता यार्चा संकलनका लागि डोल्पा हिँडेकी जमुनाको यार्चा टिप्न पाटन नपुग्दै काइके गाउँपालिकाको लैनीडाँडामा लेक लागेर ज्यान गयो । ‘गाउँबाट २ दिन हिँडेर त्यहाँ पुगेका थियौं, दिदीलाई लेक लागेपछि घरतर्फ फर्काउने बेला ज्यान गयो,’ दिदीसँगै यार्चा टिप्न हिँडेकी सरस्वतीले भनिन्, ‘यार्चा टिपेर घर खर्च चलाउँला भनेर गएका थियौं । न यार्चा टिप्न पाइयो न दिदीको ज्यान बच्यो ।’ यार्सा टिप्न पाटन पुगेकाहरूको मृत्युको शृंखला यत्तिमै सकिंँदैन । यार्चा टिप्न मुगुको मुगमकार्मारोङ गाउँपालिकाको पाटन पुगेका ४ जनाको पछिल्लो साता लेक लागेर ज्यान गयो । जसमा छायानाथ रारा नगरपालिका–१२ शोभागाउँका २९ वर्षीय मुनबहादुर बुढा, कम्फागाउँका २१ वर्षीय सोबान बुढा र २४ वर्षीय राजबहादुर सावत थिए । जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार मुगुकै पाटनमा पुगेका जुम्लाको पातारासी गाउँपालिका–३ का २६ वर्षीय सुर्ज रावतको पनि लेक लागेर ज्यान गुमेको थियो । जिल्ला प्रहरी प्रमुख डीएसपी वीरेन्द्र थापाका अनुसार लेक लागेर सिकिस्त परेका दुई जनालाई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार यस वर्ष यार्चा टिप्न गएकामध्ये मुगुमा ६ र डोल्पामा ६ गरी १२ जनाले ज्यान गुमाएका छन् भने झन्डै १ सय यार्चा संकलक बिरामी परेका छन् । प्रदेश प्रहरीका अनुसार तीन वर्षको अवधिमा यार्चा टिप्ने क्रममा कर्णालीमा ३९ जनाले ज्यान गुमाइसकेका छन् ।

कोरोना महामारीका बेला झन्डै २ वर्ष यार्चा संकलनमा प्रतिबन्ध लगाइए पनि त्यसअघि बर्सेनि १५ जनासम्मको ज्यान गएको प्रहरीको तथ्यांक छ । तीन वर्षको अवधिमा यार्चा संकलनका क्रममा जाजरकोटका ८, मुगुका १०, डोल्पाका ९, रुकुम पश्चिम र जुम्लाका ६–६ जनाले ज्यान गुमाइसकेका छन् । सुदूरपश्चिमका हिमाली जिल्लाहरूमा पनि मृतकको संख्या उत्तिकै छ । दार्चुला र बझाङमा गत वर्ष मात्रै यार्चा संकलन गर्न गएका ८ जनाको हिमपहिरोमा परी मृत्यु भएको थियो । दार्चुलाको व्यास गाउँपालिकामा २०८० वैशाख १९ मा गएको उक्त हिमपहिरोमा परी दार्चुला र बझाङका २–२ जना र डोटीका एक जनाले ज्यान गुमाएका थिए भने बझाङको सुर्मा गाउँपालिकाको धानसेरी हिमालमा गएको पहिरोमा परी तीन जनाको मृत्यु भएको थियो । २०७९ सालमा बझाङको सुर्मा र साइपाल गाउँपालिकाका विभिन्न यार्चा संकलन क्षेत्रमा ७ जनाको मृत्यु भएको थियो । उनीहरूको हिम पहिरोमा परेर, लेक लागेर, हिउँमा चिप्लिएर र खोलाले बगाएर ज्यान गएको हो । सुदूरपश्चिम प्रदेशमा कति जनाले यार्चा संकलनका क्रममा ज्यान गुमाएका छन् भन्ने आधिकारिक तथ्यांक कुनै निकायले राखेका छैनन् ।
यद्यपि बझाङको सुर्मा गाउँपालिकामा मात्रै १० वर्षको अवधिमा ७५ जनाले यार्चा संकलनका दौरान ज्यान गुमाइसकेको स्थानीय बताउँछन् । यार्चा टिप्ने क्रममा बझाङकै साइपाल, तल्कोट, मष्टा, छबिसपाथीभेरा, दुर्गाथली गाउँपालिका तथा जयपृथ्वी र बुङगल नगरपालिकाबाट १० वर्षको अवधिमा २ सयभन्दा बढीले ज्यान गुमाइसकेको स्थानीय बताउँछन् । यद्यपि यसरी ज्यान गुमाउनेको आधिकारिक विवरण कसैले राखेका छैनन् ।

‘लेकमा मृत्यु भएकाहरूको मुचुल्का नउठाई आफन्तहरूले दाहसंस्कार गर्छन्,’ दाचुर्लाका प्रहरी प्रमुख डीएसपी शिवबहादुर सिंहले भने, ‘जसले गर्दा कतिपय मृत्युको रेकर्ड नै हुँॅदैन ।’ यार्चा संकलनका क्रममा बर्सेनि दुई–चार जनाले ज्यान गुमाइरहेको सिंहले बताए । ‘पाटन जाने बाटो भिरालो र जोखिमपूर्ण छ । अधिकांशले त तिनै अजंगका भीरबाट लडेरै ज्यान गुमाउँछन्,’ कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी वीरबहादुर ओलीले भने, ‘कष्टकर यात्रा गरेर पाटनमा पुगेकाहरू पनि लेक लागेर, हिउँमा चिप्लिएर र अरू बिरामी भएर ज्यान गुमाउन बाध्य छन् ।’ डिभिजन वन कार्यालय रुकुम पश्चिमका प्रमुख शेरबहादुर परियारले यार्चा संकलकहरू नफर्कंदासम्मै ज्यानको जोखिम भइरहने बताउँछन् । ‘बाँदर लड्ने भीर छिचोल्दै पुग्नुपर्ने बाध्यता छ, त्यसमा पनि उचाइका कारण अधिकांश दीर्घरोगी, बालबालिका र महिला त बाटैमा मृत्युवरण गर्छन्,’ उनले भने, ‘पाटनमा पनि हिउँमै टेन्ट टाँगेर बास बस्नुपर्छ, बिरामी परे उपचारको व्यवस्था हुँदैन । कि हेलिकोप्टर चार्टर्ड गर्न सक्नुपर्‍यो, नत्र मृत्यु कुर्नुको विकल्पै छैन ।’

यार्चा संकलन गर्न पाटन पुगेकाहरूको मृत्यु भएका कैयौं परिवारको बिचल्ली त्यस्तै छ । गत वर्ष रुकुम पश्चिम आठबिसकोट–१ खदीका १९ वर्षीय कृष्ण नेपाली जेठ पहिलो साता यार्चा खोज्न डोल्पा पुगेका थिए । घरखर्च र पढाइखर्च जुटाउन पाटन पुगेका कृष्णले त्यहीं ज्यान गुमाए । जेठो छोराको मृत्युपछि यतिबेला शारीरिक रूपमा अशक्त बाबु वीरजित र ३ भाइको बिचल्ली छ । ‘१ रोपनी पाखोबारीमा लगाएको अन्नपातले परिवारलाई १ महिना पनि खान पुग्दैन,’ वीरजितले भने, ‘परिवारको आडभरोसा नै बितेपछि अशक्त भए पनि मजदुरी गर्नु परिरहेको छ, तैपनि खर्च कहिल्यै पुग्दैन ।’ यस्तै अवस्था बझाङको सुर्मा गाउँपालिका–१, विछाडाका प्रेम बोहराको पनि छ । २०७९ सालमा ब्यासीमारे हिमालमा गएको पहिरोमा परेर उनकी श्रीमती सिन्की बोहराको मृत्यु भयो । त्यसको एक वर्षअघि यार्चा टिपेर फर्किने क्रममा उनकी १३ वर्षीया छोरी कविताको अगाड खोलाले बगाएर ज्यान गएको थियो । निम्न आर्थिक अवस्था भएका प्रेम परिवारमा भएको लगातारको दुर्घटनाको शोकले विक्षिप्त छन् ।

‘नजाऔं भने यार्चाकै कमाइले परिवार पाल्नुपर्छ । कमाइखाने अरू बाटो छैन,’ उनले भने, ‘जाउँ सालसालै ज्यान जान लाग्या । परार छोरी मरी, अहिले जोई ९श्रीमती० मरी । मेरो त परिवारै यार्चाले लुट्यो ।’ श्रीमती र छोरी गुमाएका प्रेमले १६ र ८ वर्षका दुई छोरा र ११ र ४ वर्षकी दुई छोरी हुर्काउन समस्या भइरहेको बताए । यार्चा खोज्न गएका जाजरकोटको बारेकोट–६ धुमाका १८ वर्षीय रमेश चलाउनेको पनि पाटनमै ज्यान गएको थियो । वीरेन्द्र ऐश्वर्य मावि लिम्साबाट ११ कक्षाको परीक्षा दिएका उनी पढाइखर्च जुटाउन त्यता गएका थिए । गरिबीका कारण उच्च हिमाली क्षेत्रमा जोखिम मोलेरै यार्चा टिप्न जानुपर्ने बाध्यताले गर्दा भाइले ज्यान गुमाउनुपरेको प्रदीपले बताए । ‘यार्चाले हामी विपन्नको रोजीरोटी मात्र जुटाएको छैन, बर्सेनि ज्यान पनि लिइरहेको छ,’ उनले भने, ‘भाइको मृत्युपछि कोरोनाअघि म पनि बर्सेनि पाटन जान्थें तर अहिले त्यही घटनाले पिरोल्दा जान सकेको छैन ।’ नेपाल रेडक्रस सोसाइटी कर्णाली प्रदेशका महासचिव नरबहादुर नेपालीले यार्चा खोजेर कमाइ गर्न जाँदा पाटनमा ज्यान गुमाउनेको संख्या बर्सेनि बढिरहेको बताए । भने, ‘गरिबी, कृषि उत्पादनले वर्षभरिको खर्च नपुग्नु, बेरोजगारीलगायत बाध्यताका कारण यहाँका बच्चादेखि बुढाबुढीसम्म ज्यान हत्केलामा राखेर यार्चा खोज्न जान बाध्य छन् ।’ घरव्यवहार चलाउन र बालबालिकाको पढाइ खर्च जुटाउन उच्च जोखिम मोलेर बर्सेनि पाटन जानुपरेको जुम्लाको तातोपानी गाउँपालिका—३ की देउसरा बुढाले बताइन् । ‘एक महिना यार्चा खोजेको कमाइले वर्षभरिको खर्च टर्छ,’ यसै साता यार्चा टिप्न मुगुका पाटन जाने तयारीमा रहेकी उनले भनिन्, ‘यार्चा खोज्ने क्रममा कतिले उतै ज्यान गुमाउँछन्, कति बिरामी परेर फर्कन्छन् ।’ बझाङको सुर्माका दिलीप बोहरा यार्चा टिप्न जानुलाई मृत्युसँग जुध्न जानुसँग तुलना गर्छन् । भन्छन्, ‘आम्दानीको अरु माध्यम छैन । बाँचे एक वर्षलाई परिवार पाल्ने खर्च आउँछ, मर्‍यो भने कहानी खत्तम ।’ बझाङका विभिन्न पाटनहरूमा बर्सेनि यार्चा संकलनका लागि ३५ हजारभन्दा बढी संकलकहरू पुग्ने गर्छन् । संकलकहरूबीचमा हुने आपसी विवाद र लुटपाटका घटनामा पनि यार्चा संकलकहरूले अनाहकमा ज्यान गुमाएका थुप्रै घटना छन् ।

बझाङको सुर्मा र साइपालका लेकमा आपसी झगडा र लुटपाटका घटनामा १५ वर्षमा ५ जनाको हत्या भएको प्रहरीको तथ्यांकमा छ । कर्णाली प्रदेश प्रहरी कार्यालयका अनुसार ०७५र७६ मा डोल्पाको पाटनमा धारिलो हतियार प्रयोग गरी एक र कुटपिटबाट एक जनाको मृत्यु भएको थियो । २०७१ असारमा यार्चा टिप्न गएका धादिङ र गोर्खाका संकलकबीच मदिराका कारण झगडा हुँदा घाइते भई हेलीमार्फत काठमाडौं लैजानुपरेको थियो । २०७२ सालमा डोल्पाको फोक्सुन्डो र साल्दाङको सिमानामा पर्ने नाउर लेकमा हतियार धारीले यार्सा संकलक तथा व्यवसायबाट ४ करोड रुपैयाँ लुटेका थिए । २०७३ असारमा मुगुमा यार्चा संकलकबीच झडप हुँदा एक जनाको गोली हानेर हत्या गरिएको थियो । यस वर्ष डोल्पाका कागमारा, फूलबारी, धो, ताक्सी, सिसोल, नावरपानी, मुगुको कोइकी, रिमार, टाँकेलगायत पाटनमा झन्डै १५ हजार यार्चा संकलक पुगेको कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको तथ्यांक छ । मन्त्रालयका सूचना अधिकारी निरज श्रेष्ठका अनुसार कतिपय संकलक अझै बाटोमा रहेकाले यकिन तथ्यांक अझै आएको छैन । गत वर्ष मुगु र डोल्पाका पाटनमा झन्डै ३३ हजार संकलक गएका थिए । ‘सिजन भर्खरै सुरु भएकाले कतिपय संकलक बाटोमै छन्,’ उनले भने, ‘स्थानीय तहमार्फत तथ्यांक संकलनको काम भइरहेको छ ।’ जेठ दोस्रो साताबाट यार्चा संकलनका लागि कर्णालीका पाटनहरू खुला गरिएका हुन् । विद्यार्थी पढाइ खर्च जुटाउन पाटन उक्लिएपछि मुगु, डोल्पा, जुम्ला, रुकुम पश्चिम, जाजरकोटलगायतका जिल्लाका ग्रामीण भेगका अधिकांश विद्यालयको पठनपाठन प्रभावित भएको छ । समाजशास्त्री गणेश ओलीले एकातिर यार्चा टिप्न जानेहरूको मृत्यु र अर्कोतिर जोखिम मोलेर खोजेको यार्चाको कमाइ बीचमै लुटिने समस्या दुवै चिन्ताको विषय भएको बताउँछन् । भन्छन्, ‘विभिन्न वन समिति, आरक्ष, विभिन्न युवा क्लबलगायतले प्रवेश शुल्कको निहुँमा असुल्ने मोटो रकमले यार्चा संकलकलाई पीर थपिदिएको छ ।’ पाटनमा आउजाउ र बन्दोबस्तीका सामानको व्यवस्था गर्दा प्रतिव्यक्ति ५० हजार रुपैयाँसम्म खर्च हुने गरेको बताउँदै उनले भने, ‘त्यत्रो रकम खर्च गर्दा कम्तीमा न्यूनतम १ लाख कमाउनुपर्छ । तर बर्सेनि यार्चाको उत्पादन घट्दो छ ।’ वनस्पतिविज्ञ किरण शर्माले बर्सेनि हिमपात, हावाहुरी, अधिक वर्षालगायत कारण यार्चा उत्पादनमा कमी आइरहेको बताए । उनका अनुसार गत वर्ष प्रतिगोटा १ हजार रुपैयाँसम्ममा यार्चा बिक्री भएको थियो । व्यापारीले गत वर्ष २७ लाख रुपैयाँसम्ममा यार्चा बिक्री गरेका थिए ।

कान्तिपुरमा लेखेको छ  ‘मानवीय उपस्थिति बढ्दै जाँदा पाटनहरूमा यार्चाको उत्पादन घटिरहेको छ,’ उनले भने, ‘मूल्य पनि घट्दै जाँदा संकलकहरूको जीविकोपार्जनमा समस्या भइरहेको छ ।’ अनुसन्धानकर्ता उत्तमबाबु श्रेष्ठका अनुसार विश्वभर बर्सेनि ५ देखि ११ अर्ब डलर बराबरको यार्चा व्यापार हुन्छ । चीनमा प्रतिकिलो ७० लाख रुपैयाँसम्म पर्छ । मुगुको मुगमकार्मारोङ गाउँपालिका अध्यक्ष छिरिङक्याप्ने लामाले मुगमकार्मारोङका पाटनहरूमा अहिलेसम्म झन्डै ४ हजार संकलक पुगेको र ६९ लाख ५२ हजार रुपैयाँ राजस्व उठेको बताए । उनका अनुसार जिल्लाभित्रका संकलकबाट २ हजार र बाहिरकाबाट २ हजार ५ सय प्रवेश शुल्क लिइन्छ । पाटनमा झन्डै १ सय यार्चा संकलक बिरामीको खबर आएपछि उपचारका लागि चिकित्सकसहित स्वास्थ्यकर्मीको टोली पठाइएको बताए । कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री दुर्गबहादुर रावतले यार्सा संकलनलाई व्यवस्थित, कम जोखिमयुक्त र उपयुक्त बजारीकरणसहितको बनाउन कार्ययोजना निर्माणको काम भइरहेको बताए । नेपाल राष्ट्र बैंकको एक अध्ययनअनुसार आर्थिक वर्ष ०७०र७१ मा नेपालका ११ जिल्लामा ४ अर्ब ९२ करोडको यार्चा संकलन भएको थियो । यार्चाको बिक्रीवितरण र कारोबारको रकमको रेकर्ड विभिन्न निकायमा भेटिने गरेको भए पनि यार्चा संकलनका क्रममा ज्यान गुमाएकाहरूको हिसाब भने कसैले राखेका छैनन् ।