अपोलो-८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु

अपोलो-८ अन्तरिक्ष यात्री एन्डर्सको विमान दुर्घटनामा मृत्यु


५५ वर्षअघि अन्तरिक्षबाट ऐतिहासिक ‘अर्थराइज’ फोटो खिच्ने पूर्वअमेरिकी अन्तरिक्ष यात्री विलियम एन्डर्सको शुक्रबार ९० वर्षको उमेरमा विमान दुर्घटनामा मृत्यु भएको उनको परिवारले जनाएको छ ।

एन्डर्स सानो विमान उडाउँदै गर्दा शुक्रबार बिहान वासिङ्टन राज्यको तटमा दुर्घटनाग्रस्त भएको उनको छोराले अमेरिकी मिडियालाई बताए । विमानमा एन्डर्स एक्लै थिए ।

शेरिफ एरिक पिटरले दुर्घटना क्षेत्रमा खोजी भइरहेको तर अहिलेसम्म शव फेला नपरेको बताए ।

सन् १९६८ डिसेम्बरमा अपोलो-८ मिसनको सदस्य एन्डर्स उनका समकक्षी फ्रान्क बोर्मन र जेम्स लभेलसँगै चन्द्रमामा पुग्ने पहिलो व्यक्तिमध्ये एक थिए ।

चन्द्रमाको एउटा कक्षबाट एन्डर्सले अन्तरिक्षको विशाल अन्धकारको विरूद्ध चम्किलो निलो पृथ्वीको फोटो खिचेका थिए । ‘अर्थराइज’ नामक उक्त तस्विर प्रमुख ऐतिहासिक छविहरूको राउन्डअपमा सूचीबद्ध गरिएको छ र लाइफ म्यागजिनको पुस्तक ‘संसार बदलेको १०० तस्विरहरु’को सूचीमा समावेश गरिएको थियो ।

‘सन् १९६८ मा अपोलो-८ को समयमा बिल एन्डर्सले मानवतालाई अन्तरिक्ष यात्रीले दिन सक्ने सबैभन्दा ठूलो उपहार प्रदान गर्नुभएको थियो’, नासाका प्रमुख बिल नेल्सनले सामाजिक सञ्जाल एक्समार्फत बताए ।

सन् १९३३ अक्टोबर १७ मा हङकङमा जन्मिएका एन्डर्सले अन्तरिक्ष यात्रीको रूपमा आफ्नो समयपछि विभिन्न प्रविधि सम्बद्ध सरकारी पदहरू सम्हालेका थिए । उनी विशेषगरी आणविक नियामक आयोगको पहिलो अध्यक्ष बनेका थिए र त्यसपछि नर्वेका लागि अमेरिकी राजदूतको रूपमा पनि सेवा गरेका थिए ।

-रासस/एएफपी