टिकटक खोल्न रास्वपाका सांसद शाहको आग्रह

टिकटक खोल्न रास्वपाका सांसद शाहको आग्रह


काठमाडौं । व्यवस्थित र नियन्त्रितरुपमा सामाजिक सञ्जाल टिकटक खोल्न राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले सरकारलाई आग्रह गरेका छन् । शुक्रबारको बसेको प्रतिनिधिसभाको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् ।

बैठकमा बोल्दै शाहले फेसबुक र इन्स्टाग्रामजस्ता सामाजिक सञ्जाल विना रोकतोक चलिराखेको तर टिकटकबाट मात्रै अपराध र विकृति फैलिने भन्ने कुरा स्वीकार्य हुन नसक्ने बताए । टिकटक बन्द हुँदा टेलिकम कम्पनीलाई ठूलो आर्थिक क्षति पुगेको, घरेलु र स्वतन्त्र व्यवसायी बेरोजगार भएको तथ्य पेश गर्दै उनले सरकारले बन्द गरेपनि भीपीएनबाट ठूलो संख्यामा टिकटक चलिराखेको उनले बताए ।

“सरकारले कात्तिक २७ गतेदेखि टिकटकमा प्रतिबन्ध लगाएको थियो । भीपीएन प्रयोग गरेर भएपनि प्रयोगकर्ताले चलाइरहेका छन् । हिजोको दिनमा ९० लाखको हाराहारीमा चलाइरहेका थिए भने अहिले ५० लाखको हाराहारीमा चलाइरहेको अनौपचारिक तथ्यांक छ । टिकटकको विकल्पमा फेसुबक रिल्स, युट्युब सर्ट्स, इन्स्टा मजाले चलेकै छ ” उनले भने ।