ललितपुर । लालीगुराँस सहकारीको झन्डै २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ हिनामिना गर्ने धन्दामा संलग्न चार अभियुक्त पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले अमरदास श्रेष्ठ, सुरेन्द्र भण्डारी, अमृतकुमार अर्याल र कदमबाबा जोशी प्रधानलाई पक्राउ गरेको हो । पक्राउमध्ये श्रेष्ठ सहकारीको अध्यक्ष र भण्डारी प्रमुख कार्यकारी अधिकृत हुन् । त्यस्तै, अर्याल र प्रधान क्रमशः सहकारीको कोषाध्यक्ष र सदस्य हुन् । उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा १ चैत ०८० मा बचतकर्ताले जाहेरी दिएका थिए । सोही जाहेरीका आधारमा उनीहरूलाई कार्यालयले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सानुराम भट्टराईले बचतकर्ताको रुपैयाँँ अपचलन गरेको अभियोगमा लालीगुराँस सहकारीका चार सञ्चालक पक्राउ परेको बताए । ‘लालीगुराँस सहकारीका २२ हजार बचतकर्ताको ६ अर्ब ३० करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा चारजना पक्राउ परेका छन्,’ उनले भने, ‘उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुरमा जाहेरी परेको छ । सोही जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । थप अनुसन्धान ललितपुरबाटै हुनेछ ।’
पक्राउमध्ये श्रेष्ठ यसअघि ३१ वर्षसम्म नेपाल बैंकमा मुख्य म्यानेजरका रूपमा कार्यरत थिए । उनी ०६१ देखि लालीगुराँस सहकारीमा सचिवका रूपमा छिरेका थिए । ०६४ देखि उनी सहकारीको उपाध्यक्षका रूपमा आठ वर्ष कार्यरत रहे । ०७४ देखि हालसम्म भने उनी सहकारीकोे अध्यक्षका रूपमा कार्यरत छन् । त्यस्तै, कांग्रेसको महासमिति प्रतिनिधि रहेका भण्डारी ०५६ देखि सहकारीमा विभिन्न पदमा कार्यरत छन् । उनी ०५६ मा सहकारीको म्यानेजर थिए । त्यसयता उनी सहकारीको प्रमुख कार्यकारी अधिकृत, सञ्चालक सदस्य र सचिव पदमा कार्यरत भए । ०६६ र ०७६ मा उनी राष्ट्रिय सहकारी विकास बोर्डको सञ्चालक रहे । त्यस्तै, ०७२ देखि ०७७ सम्म उनी राष्ट्रिय सहकारी महासंघमा वरिष्ठ सञ्चालक बने । प्रहरीका अनुसार उनीहरूविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंमा ठगीसम्बन्धी जाहेरी छ । उनीहरूविरुद्ध बाँकी अनुसन्धान अब काठमाडौं परिसरबाट पनि हुनेछ ।
प्रतिक्रिया