३५ वर्षअघि सजाय तोकिएकासहित ६ जना दोषी अदालतमा पेश

३५ वर्षअघि सजाय तोकिएकासहित ६ जना दोषी अदालतमा पेश


रुपन्देही । रुपन्देहीमा ३५ वर्षअघि सजाय तोकिएका अभियुक्तसहित ६ जना पक्राउ परेका छन् । जिल्ला अदालतले विभिन्न मितिमा गरेको फैसला अनुरूप कैद तथा जरिवाना सजाय भुक्तान गर्नबाट फरार रहेका ६ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।

रुपन्देहीका डीएसपी तथा जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी मनोहरप्रसाद भट्टले पक्राउ परेका फरार प्रतिवादीलाई कैद तथा जरिवाना भुक्तानको लागि रुपन्देही जिल्ला अदालतमा पेश गरिएको बताए ।

पक्राउ पर्नेमा ३५ वर्षअघि गरिएको फैसला अनुरूप कैद तथा सजाय भुक्तान गर्नु पर्नेदेखि १२ वर्षअघि गरिएको फैसलासम्मका फरार प्रतिवादी छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीको विभिन्न युनिटद्वारा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, इलाका प्रहरी कार्यालय रुद्रपुरले रुपन्देहीको कञ्चन गाउँपालिका-३ का देवबहादुर थापा क्षेत्रीलाई पक्राउ गरेको छ ।

उनलाई २०४६ साल चैत ३ मा रुपन्देही जिल्ला अदालतले सरकारी जग्गा आवाद मुद्दामा ३ हजार ८ सय ६१ रुपैयाँको जरिवाना फैसला गरेको थियो ।

इलाका प्रहरी कार्यालय धकधईले ओमसतिया गाउँपालिका-५ बस्ने महेशकुमार चाईलाई पक्राउ गरेको छ । उनलाई जिल्ला अदालतले २०६९ जेठ २३ गते कुटपिट तथा अंगभंग मुद्दामा २ वर्ष कैद सजायको फैसला गरेको थियो ।

बिगो मुद्दामा २०५० माघ २७ गते १ हजार रुपैयाँ जरिवाना फैसला भएका देवदह नगरपालिका-१२ बस्ने पूर्णबहादुर कुँवरलाई प्रहरी चौकी खैरेनीले पक्राउ गरेको छ ।

२०५० माघ २७ को फैसलाले गाली वेइज्ज्ती मुद्दामा १ हजार रुपैयाँ जरिवाना फैसला भएका देवदह नगरपालिका-६ का शेरबहादुर थापा पनि पक्राउ परेका छन् ।

सोही मितिमा चोरीसहित अन्य मुद्दामा ६ सय ७३ रुपैयाँ जरिवाना फैसला भएका देवदह नगरपालिका वडा-३ का एक व्यक्ति र २०४७ साल साउन ३० गते चोरी र अन्य मुद्दामा ६ सय ७३ रुपैयाँ जरिवाना फैसला भएका देवदह नगरपालिका-३ का मानबहादुर मगर पनि पक्राउ परेका छन् ।