काठमाडौं प्रहरीले चेकबाउन्सको मुद्दा हेर्न बेवास्ता गरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण

काठमाडौं प्रहरीले चेकबाउन्सको मुद्दा हेर्न बेवास्ता गरेको भन्दै गृहमन्त्रीको ध्यानाकर्षण


काठमाडौं । काठमाडौं प्रहरी परिसरले चेक बाउन्सको मुद्दा हेर्न बेवास्ता गरेको भन्दै युवाहरुको एक समूहले बिहीबार गृहमन्त्री रमेश लेखकलाई ध्यानकर्षण पत्र बुझाएको छ ।

१० लाख रुपैयाँभन्दा बढीको चेकमा आय स्रोत खोज्ने, लामो समयसम्म उजुरीमा कारबाही नगर्ने र हदम्याद सकिएको भन्दै फिर्ता गर्ने चलन रहेको भन्दै उनीहरुले गृहमन्त्री लेखकको ध्यानाकर्षण गरेका हुन् ।

देशको संघीय राजधानीमा काठमाडौंमा जिल्ला प्रहरी कार्यालयले मात्र चेक बाउन्सको मुद्दा हेर्ने गरेको र नजिकका अन्य युनिटले नहेर्दा सेवाग्राहीलाई थप समस्या भएको गुनासो गरिएको छ ।

‘जिल्ला प्रहरी परिसर काठमाडौंमा पनि सजिलै जाहेरी दर्ता हुँदैन, दस लाख भन्दा माथिको बिगो रकम भएमा अनिवार्य रूपमा आय स्रोत देखाउनु पर्छ। जबकि, बैंक स्टेट्मेन्ट र पैसा पठाएको भौचर नै आय स्रोतको प्रमाण मान्न सकिन्छ । सामान्य मानिसले सजिलै उजुरी दर्ता गर्न सक्दैनन्’, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘शक्तिकेन्द्र नजिकका व्यक्तिहरूले मात्रै प्रहरीलाई प्रभावमा पारेर चेक बाउन्सको मुद्दा चलाउने गरेका छन् । प्रहरीले कसैको चेक बाउन्सको मुद्दा हेर्ने र कसैको नहेर्ने गरेको भन्दै विवाद पनि चलेको छ । कतिपय उजुरीमा यस्तो अवस्था आएको छ कि जिल्ला प्रहरी परिसर काठमाडौंले ६÷७ महिना जाहेरी राखेर, अन्तिममा हदम्याद सकिँदै गर्दा, हामी दर्ता गर्न सक्दैनौं, तपाईँ फिरादपत्रबाट अदालतमा जानुस् भन्नसम्म पुगेको छ ।’

चेतन जेठारा, सुबिना खनाल, हरि पौडेल, अभिशेक बोहरा र शुसान्त शुक्लाको समूहले ज्ञापन पत्र बुझाएको हो ।