काठमाडौं । राष्ट्रव्यापी विरोध प्रदर्शनले हिंसात्मक रूप लिएपछि फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोंले आइतबार राति शिक्षा प्रणालीमा परिवर्तनको माग गरिरहेका विद्यार्थीहरूको चिन्ता सम्बोधन गर्ने र दङ्गामा उत्रिएकाहरूको आलोचना गर्नेबीच सन्तुलन कायम गर्ने प्रयास गरे।
‘सम्पत्ति नष्ट गर्नेहरूले त्यसको मूल्य चुकाउनुपर्छ। लुटपाट गर्नेहरूले पीडितलाई क्षतिपूर्ति दिनुपर्छ। गणतन्त्रलाई ढाल्न खोज्नेहरूलाई जवाफदेही बनाइनेछ,’ म्याक्रोंले भने।
तर पेरिसको ठीक दक्षिणपूर्वमा पर्ने उपनगर इभ्री–सुर–सेनका २० वर्षीय यानिसले राष्ट्रपतिको सम्बोधनबाट आफूले सुन्न चाहेको कुरा पाएनन्।
‘उनले कुनै ठोस कुरा अघि नसारी सधैँको जस्तै फोस्रो भाषण दिए,’ उनले भने, ‘हामी फेरि सडकमा उत्रिनेछौँ। केही परिवर्तन नहुँदासम्म हरेक सप्ताहान्तमा, कुनै विश्रामबिना, एकपछि अर्को प्रदर्शन भइरहनेछ।’
गत सप्ताहन्त हिंसात्मक प्रदर्शनका रूपमा सतहमा आएको व्यापक जनआक्रोशसँग फ्रान्स जुधिरहेका बेला कम्तीमा देशका युवामाझ म्याक्रोंले प्रतिनिधित्व गर्ने मध्यमार्गी राजनीतिप्रतिको आकर्षण तीव्र रूपमा घटिरहेको देखिन्छ।
फ्रान्समा देखिएको अशान्ति सन् २०२७ मा हुने राष्ट्रपतीय निर्वाचनभन्दा केही महिनाअघि भएको हो। यसले राजनीतिक विभाजनलाई थप तीव्र बनाएको छ। सडकमा देखिएको असन्तुष्टिको समाधान आफूहरूसँग रहेको देखाउन विभिन्न राजनीतिक दलहरू लागिपरेका छन्।
लोकप्रियतावादी वामपन्थी नेता जिन–लुक मेलाँसोंले विद्यार्थी आन्दोलनलाई उत्साहपूर्वक समर्थन गरेका छन्। अर्कोतर्फ, दक्षिणपन्थी अतिवादी नेतृ मरिन ले पेनले प्रदर्शनका क्रममा भएको अव्यवस्थालाई प्राथमिकता दिँदै त्यसलाई सुरक्षा र राज्यको अधिकारसँग जोडिएको सङ्कटका रूपमा प्रस्तुत गरेकी छन्।
मध्यमार्गी प्रधानमन्त्री सेबास्टियन लेकोर्नुले भने अतिवामपन्थीहरूलाई राष्ट्रपतीय निर्वाचनको ‘अभ्यास चरण’ का रूपमा हिंसा भड्काएको आरोप लगाएका छन्।
निर्वाचनअघि गरिएका मत सर्वेक्षणले अतिवामपन्थी र अतिदक्षिणपन्थी दुवै शक्तिले निर्वाचनमा केन्द्रीय भूमिका खेल्न सक्ने देखाउँछन्। तर देशमा परिवर्तनको माग बढिरहेका बेला त्यो परिवर्तन कस्तो हुनुपर्छ भन्ने विषयमा भने सहमति छैन।
दुई कार्यकाल सत्तामा बिताइसकेका म्याक्रोंले आगामी निर्वाचनपछि पद छाड्नुपर्नेछ। फ्रान्सको संविधानले उनलाई फेरि राष्ट्रपतिको उम्मेदवार बन्न रोक लगाएको छ।
‘उम्मेदवारहरूसँग पक्ष लिनु र युवाहरूलाई सम्बोधन गर्नुको विकल्प छैन,’ युपेक–पेरिस १२ विश्वविद्यालयका सार्वजनिक कानुनका प्राध्यापक तथा राजनीतिक विश्लेषक बेलिग नाब्लीले भने, ‘युवालाई लक्षित सन्देश दिनु उनीहरूको राजनीतिक दायित्व हो। त्यो सन्देश खोक्रो हुनु हुँदैन, बरु युवाहरूका मागको जवाफ दिन सक्नुपर्छ।’
सेप्टेम्बरको मध्यतिर विरोध प्रदर्शन सुरु गरेका विद्यार्थीहरूले राम्रो विद्यालय, थप शिक्षक र समानतामा आधारित शिक्षा प्रणालीको माग गरेका थिए। तर आन्दोलन चाँडै विद्यालय परिसरबाट सडकमा फैलियो र यसले व्यापक सामाजिक तथा आर्थिक चिन्तालाई समेत उजागर गर्यो।
विश्लेषकहरूका अनुसार युवाहरूको तुलनात्मक रूपमा कम मतदान सहभागिता र राजनीतिक अभियानले पेन्सनजस्ता विषय तथा वृद्ध मतदातालाई प्राथमिकता दिने प्रवृत्तिका कारण यी मुद्दाले राजनीतिक बहसमा यसअघि त्यति महत्त्व पाएका थिएनन्। तर विरोध प्रदर्शनले ती विषयलाई बहसको केन्द्रमा ल्याएको छ।
‘यो परिचालन नभएको भए सबै कुरा पहिलेकै ढर्रामा चलिरहेको हुन्थ्यो,’ नाब्लीले भने, ‘निर्वाचनमा ६० वर्षभन्दा माथिका मतदाताको तुलनामा युवाहरू कम सक्रिय हुने भएकाले उम्मेदवारहरूले उनीहरूप्रति तुलनात्मक रूपमा उदासीनता देखाएको अवस्था हुने थियो।’
युवामाझ मेलाँसोंको आकर्षण बढ्दै
मेलाँसों नेतृत्वको वामपन्थी दल फ्रान्स इन्सुमिज अर्थात् ‘फ्रान्स नझुक्ने’ले विद्यार्थी आन्दोलनलाई बलियो समर्थन गरेको छ। यसका आलोचकहरूले भने युवाहरूको आक्रोश बढाउन र राजनीतिक लाभ लिन उक्त दलले अशान्तिको उपयोग गरेको आरोप लगाएका छन्।
यद्यपि, युवा मतदातामाझ उक्त दलको आकर्षण विरोध प्रदर्शन सुरु हुनुअघिदेखि नै थियो। यसको राजनीतिक कार्यक्रमले आन्दोलनका मुख्य मागमध्ये शिक्षामा लगानी बढाउने, शिक्षकको तलब वृद्धि गर्ने र उच्च शिक्षामा भर्नाका लागि विद्यार्थीले प्रयोग गर्नुपर्ने अनलाइन प्रणाली पार्कुसुप खारेज गर्नेजस्ता विषय समेटेको छ। धेरै विद्यार्थीले उक्त प्रणाली पारदर्शी नभएको गुनासो गर्दै आएका छन्।
बिहीबार प्रकाशित ‘ले एको’का लागि ओपिनियनवेले गरेको मत सर्वेक्षणअनुसार १८ देखि २४ वर्ष उमेर समूहका मतदातामाझ मेलाँसों सबैभन्दा अगाडि छन्। उक्त उमेर समूहका ४९ प्रतिशतले उनलाई समर्थन गरेका छन्। सन् २०२२ को तुलनामा उनको समर्थन १० प्रतिशत विन्दुले बढेको हो।
केही युवा प्रदर्शनकारीका लागि मेलाँसोंलाई समर्थन गर्नु अतिदक्षिणपन्थीको विरोध गर्नुका साथै मध्यमार्गी राजनीतिप्रतिको असन्तुष्टि व्यक्त गर्नु पनि हो।
सोमबार लुभ्र सङ्ग्रहालयमा भएको प्रदर्शनमा सहभागी २१ वर्षीया विद्यार्थी लिडियाले भनिन्, ‘म अतिदक्षिणपन्थी दल नेसनल र्याली र मध्यमार्गी शक्तिको प्रतिरोध गर्न फ्रान्स इन्सुमिजलाई मत दिनेछु। किनकि मध्यमार्गीहरूले मूलतः हामीलाई म्याक्रोंकै नीतिहरूको पुनरावृत्ति दिनेछन्।’
तर उक्त दलले फ्रान्सका समस्याहरू समाधान नै गरिहाल्छ भन्ने भ्रम आफूलाई नभएको उनले बताइन्।
उनले आलोचकहरूले फ्रान्स इन्सुमिजलाई दानवीकरण गर्ने गरेको भन्दै त्यसको पनि आलोचना गरिन्। उनका अनुसार सामान्य वामपन्थी विचारलाई समेत बढ्दो रूपमा अतिवादी भनेर चित्रण गर्न थालिएको छ।
‘सहानुभूति राख्नु अहिले असाधारण कुरा बन्दै गएको छ। सहानुभूति राख्नुलाई नै अतिवामपन्थी व्यवहारजस्तो मान्न थालिएको छ,’ उनले भनिन्।
ले पेनको जोड सुरक्षा र कानुन व्यवस्थामा
राजनीतिक वृत्तको अर्को छेउमा रहेकी मरिन ले पेन र उनको दल नेसनल र्यालीले भने प्रदर्शनबाट उत्पन्न अशान्तिलाई कानुन र व्यवस्थाको मुद्दा बनाउने प्रयास गरेका छन्।
उनीहरूले सरकारले देशको अवस्था नियन्त्रण गर्न नसकेको आरोप लगाएका छन्। साथै, आफ्नो प्रमुख प्रतिस्पर्धी मेलाँसोंले हिंसा भड्काएको दाबी गरेका छन्।
राष्ट्रपतीय निर्वाचनको दौडमा ले पेनलाई ३२ प्रतिशत मतदाताको समर्थन रहेको सर्वेक्षणले देखाएको छ। १८ देखि २४ वर्ष उमेर समूहका मतदातामाझ भने नेसनल र्याली फ्रान्स इन्सुमिजपछि दोस्रो स्थानमा छ।
आइतबार राति भिडियो सन्देश जारी गर्दै ले पेनले भनिन्, ‘हिजो तपाईंहरूले हाम्रा सहर, सडक र देशमाथि दुर्व्यवहार गरिएको, कुटपिट र लुटपाट भएको देख्नुभयो।’
उनले थपिन्, ‘हामी विश्वास र राज्यको अधिकारसम्बन्धी गम्भीर सङ्कटबाट गुज्रिरहेका छौँ। यो सङ्कटले हाम्रो लोकतन्त्रलाई खतरामा पारेको छ।’
फ्रान्स ‘हिंसा र असहाय अवस्थाको बीचमा चेपिएको छ, प्रभावकारी रूपमा बन्धक बनेको छ’ भन्ने उनको भनाइ थियो।
म्याक्रोंको मध्यमार्गी राजनीति दबाबमा
यी परस्परविरोधी राजनीतिक भाष्यबीच म्याक्रोंको मध्यमार्गी समूह परेको छ। उनको राष्ट्रपतीय कार्यकाल ‘येलो भेस्ट’ आन्दोलनका बीच सुरु भएको थियो। अहिले अर्को ठूलो सामाजिक आन्दोलनको पृष्ठभूमिमा उनको कार्यकाल अन्त्यतिर पुग्दै छ।
सुरुमा इन्धन कर वृद्धिको विरोधमा सुरु भएको येलो भेस्ट आन्दोलन पछि जीवनयापनको बढ्दो खर्च र म्याक्रोंले सम्भ्रान्त वर्गलाई प्राथमिकता दिएको भन्ने प्रदर्शनकारीहरूको आरोपविरुद्धको व्यापक विद्रोहमा परिणत भएको थियो।
त्यसबेलाको अवस्था र अहिलेको अवस्थाबीचको एउटा महत्त्वपूर्ण भिन्नता के हो भने आगामी सरकारले प्रदर्शनकारीहरूलाई शान्त पार्न आर्थिक सहायता वा नगद वितरण गर्ने पर्याप्त वित्तीय सुविधा पाउनेछैन।
गत वर्ष फ्रान्सको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को ५.१ प्रतिशत बराबर बजेट घाटा थियो। यो युरोपेली देशहरूमध्ये उच्च घाटामध्ये एक हो। यसको तुलनामा युरोपेली सङ्घको औसत बजेट घाटा ३.१ प्रतिशत थियो।
त्यसैले आगामी राष्ट्रपतिले म्याक्रोंकै समस्याको सामना गर्नुपर्नेछ—सार्वजनिक असन्तुष्टि थप नबढाई सरकारी खर्च कसरी घटाउने?
अहिलेको आन्दोलनले राजनीतिक नेतृत्वप्रति जनतामा रहेको व्यापक निराशालाई उजागर गरेको छ। म्याक्रोंको लोकप्रियता १५ प्रतिशतमा झरेको छ, जुन अहिलेसम्मकै न्यून हो।
आइतबार रातिको सम्बोधनमा म्याक्रोंले हिंसाका लागि ‘सीमान्तकृत अतिवामपन्थी समूहका विद्रोहीहरू र उनीहरूसँग मिसिएका धेरै अपराधी’लाई दोष दिएका थिए।
तर उनले विद्यार्थीका मागबारे भने छोटो रूपमा मात्रै बोले र ती माग सम्बोधन गर्न कुनै ठोस नयाँ नीतिगत उपाय घोषणा गरेनन्।
बरु उनले आगामी दिनमा विद्यार्थी, शिक्षक, ट्रेड युनियन र निर्वाचित जनप्रतिनिधिलाई एकै ठाउँमा ल्याएर प्रस्ताव तयार पार्न प्रधानमन्त्री लेकोर्नुलाई जिम्मेवारी दिए। साथै, हिंसाविरुद्ध थप कडा कदम चाल्ने प्रतिबद्धता जनाए।
म्याक्रोंका विरोधीहरूका लागि यो अशान्ति उनको राष्ट्रपतीय कार्यकालले समाजमा जरा गाडेका असमानता सम्बोधन गर्न नसकेको तर्क गर्ने अवसर बनेको छ।
यसको केन्द्रमा राज्यबाट निराश भएको र राजनीतिक नेतृत्वबाट आफूलाई झन्झन् टाढा महसुस गरिरहेको युवा पुस्ताको समर्थन छ। आगामी निर्वाचनअघि सबै राजनीतिक धारका दलहरू यही पुस्तालाई आफ्नो पक्षमा आकर्षित गर्न लागिपर्ने देखिन्छन्।

प्रतिक्रिया