काठमाडौं । सरकारले रिक्त जनप्रतिनिधि विवरण तत्काल उपलब्ध गराउन परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गर्दै भदौ १६ गतेभित्र विवरण उपलब्ध गराउन परिपत्र गरेको हो ।
जिल्ला समन्वय समिति प्रमुख, उपप्रमुख, नगरपालिका प्रमुख, उपप्रमुख तथा वडाध्यक्ष एवं गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा वडाध्यक्षको पदावधि समाप्त नहुँदै निजको पद कुनै कारणले रिक्त भएमा त्यस्तो पदमा बाँकी पदावधिका लागि उपनिर्वाचन गर्ने प्रयोजनका लागि निर्वाचन आयोगबाट त्यसको विवरण माग भएको भन्दै मन्त्रालयले परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।
स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ३ को उपदफा २ बमोजिम निर्वाचन आयोगले उपनिर्वाचनको तयारी गरिरहेको छ । आयोगले यही भदौ ५ गते मन्त्रालयलाई पत्र पठाउँदै उपनिर्वाचन गर्नुपर्ने स्थानीय तहको विवरण माग गरेको थियो ।
आयोगको पत्रपछि मन्त्रालयले सबै जिल्ला समन्वय समितिलाई परिपत्र गरेर रिक्त रहेका पद, २०७९ मा निर्वाचित पदाधिकारीको नाम, रिक्त भएको मिति, रिक्त हुनाको कारणलगायत विवरण पठाउन परिपत्र गरेको हो ।
प्रतिक्रिया