सुनको मूल्यमा यो साता पनि रेकर्ड

सुनको मूल्यमा यो साता पनि रेकर्ड


काठमाडौ । सुनको मूल्यले यो साता पनि नयाँ रेकर्ड कायम गरेको छ । साताको चौथो दिन बुधबार रेकर्ड कायम गरेको मूल्यले पाँचौं दिन बिहीबार पुनः ऐतिहासिक रेकर्ड कायम गरेको थियो ।

अन्तर्राष्ट्रिय बजारमा देखिएको द्वन्द्वको प्रभावले सुनको मूल्य बढ्न सघाएको विश्लेषकहरुको भनाइ छ । नेपाली बजारमा यो साता सुनको मूल्यले रेकर्डमाथि रेकर्ड कायम गर्‍यो ।

साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ लाख ३० हजार ६६० रुपैयाँ रहेको सुनको मूल्य साताको चौथो दिन बुधबार उच्च रेकर्ड राख्दै प्रति १० ग्राम १ लाख ३१ हजार २६० रुपैयाँ पुग्यो । त्यसपछि बिहीबार पुनः अर्को रेकर्ड कायम गर्दै प्रति १० ग्रामको मूल्य १ लाख ३१ हजार ३४५ रुपैयाँ पुग्यो ।

साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार भने मूल्य सामान्य घटेर प्रति १० ग्राम १ लाख ३१ हजार ८५ रुपैयाँ कायम भएको छ । यो मूल्य साताको पहिलो दिनको तुलनामा पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम ४२५ रुपैयाँ बढी हो ।

यो साता नेपाली बजारमा चाँदीको मूल्य सामान्य घटेको छ । साताको पहिलो दिन आइतबार प्रति १० ग्राम १ हजार ५८६ रुपैयाँ रहेको मूल्य साताको पछिल्लो कारोबार भएको दिन शुक्रबार प्रति १० ग्राम १ हजार ५६० रुपैयाँ ५० पैसा भयो ।