बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण

बाँकेमा धान उत्पादन बढ्ने प्रक्षेपण


नेपालगञ्ज । बाँकेमा यस वर्ष धानको उत्पादन बढ्ने प्रक्षेपण गरिएको छ । अनुकूल मौसम रसमयमा रोपाइँ भएकाले उत्पादन बढ्ने कृषि ज्ञान केन्द्रले बताएको हो ।

केन्द्र प्रमुख विनोद घिमिरेले किसानको मौसम अनुकूल भएकाले धानको उत्पादन बढेको तर यसलाई मापन गर्न ‘क्रस कटिङ’को विधिअनुसार तथ्याङ्क आउनुपर्ने बताए । उनले दसैँअघि नै त्यसका लागि स्थानीय तहसँग समन्वय गरिरहेको बताए । “हामी फिल्डमा पुग्दा किसान उत्साहित देखिनुहुन्छ, धानको उत्पादन पनि राम्रो भएको देखिएको छ”, उनले भने ।

जिल्लाको ३४ हजार पाँच सय दुई हेक्टर क्षेत्रफलमा धान खेती भएको केन्द्रले जनाएको छ । यस वर्ष प्रति हेक्टर कम्तीमा ४।३ मेट्रिकटन धान उत्पादन हुने उनको अनुमान छ ।

जिल्लाको राप्ती सोनारी गाउँपालिका-४ वैजापुर निवासी हरेराम चौधरीले गत वर्ष भन्दा यस वर्ष १५ प्रतिशत धानको उत्पादन बढ्ने बताए। उनले समयमा नै पानी परेको र  समयमा रोपाइँ भएकाले धानको उत्पादन बढ्ने तर्क गरे ।