एजेन्सी । बढ्दो महँगी र जीवनयापनको लागतविरुद्ध युरोपका विभिन्न देशमा प्रदर्शन चर्किएको छ । बेल्जियमको ब्रसेल्स र लिज सहरमा शनिबार प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । युरोन्युजका अनुसार बेल्जियममा प्रहरीले प्रदर्शनकारीमाथि पानीको फोहोरा प्रहार गरेको थियो । प्रदर्शनकारीले पनि सुरक्षाकर्मीतर्फ पानीका बोतललगायत वस्तु प्रहार गरेका थिए । बेल्जियमका गृहमन्त्री बर्नार्ड क्विन्टिनले घटनालाई समाज अस्थिर बनाउने उद्देश्यले गरिने योजनाबद्ध हिंसाको संज्ञा दिएका छन् । उनले सामाजिक सञ्जाल एक्समार्फत उपद्रवीलाई नियन्त्रण गर्न र शान्ति व्यवस्था कायम राख्न आवश्यक सबै उपाय अपनाइने बताएका छन् ।
यसैबीच, फ्रान्समा पनि महँगी र घट्दो क्रयशक्तिविरुद्ध प्रदर्शन चर्किएको छ । विद्यालयको पूर्वाधारको अवस्था र शिक्षा क्षेत्रमा बजेट कटौती गरिएको आरोपविरुद्ध सुरु भएको आन्दोलन इन्धनको मूल्यवृद्धि तथा जीवनयापनको लागतविरुद्धको बृहत् प्रदर्शनमा परिणत भएको हो । फ्रान्सका गृहमन्त्री लरेन नुनेजका अनुसार प्रदर्शनमा पाँच लाख ५० हजार मानिस सहभागी भएका थिए । तीमध्ये एक लाख १० हजार पेरिसमा सहभागी भएको र तोडफोडमा संलग्न भएको आरोपमा ४०० जनालाई पक्राउ गरिएको उनले बताएका छन् ।
विद्यार्थीको नेतृत्वमा भइरहेको आन्दोलनका क्रममा भएको हिंसाप्रति राष्ट्रपति इमानुएल म्याक्रोंले कडा प्रतिक्रिया जनाएका छन् । उनले तोडफोड र लुटपाटमा संलग्नमाथि कारबाही गर्ने प्रतिबद्धता व्यक्त गर्दै अराजकता फैलाउनेविरुद्ध एकजुट हुन आह्वान गरेका छन् ।
फ्रान्सेली सञ्चारमाध्यमका अनुसार सन् २०१८ मा इन्धनको मूल्यवृद्धि र आर्थिक असमानताविरुद्ध सुरु भएको ‘यल्लो भेस्ट’ आन्दोलनका केही अगुवा पनि विद्यार्थीको समर्थनमा जारी प्रदर्शनमा सहभागी हुने तयारीमा छन् । त्यतिबेला भएको आन्दोलनका क्रममा प्रहरीको रबरको गोली प्रहारबाट दुई हजार ५०० भन्दा बढी प्रदर्शनकारी र एक हजार ८०० प्रहरी कर्मचारी घाइते भएको समाचारमा उल्लेख छ ।
यता, इटालीमा प्रधानमन्त्री जर्जिया मेलोनीले प्रमुख सहरहरूमा भइरहेका हिंसात्मक प्रदर्शनको निन्दा गरेकी छन् । इटालियन प्रसारक राई न्युजका अनुसार ‘इटाली इन द स्क्वायर’ समितिले आयोजना गरेका प्रदर्शनमा झडप, पक्राउ र सार्वजनिक तथा निजी सम्पत्तिमा तोडफोडका घटना भएका छन् ।

प्रतिक्रिया