विपना थापा भन्छिन्– ‘अब फिल्म बनाउँछु’

विपना थापा भन्छिन्– ‘अब फिल्म बनाउँछु’


काठमाडौँ । अभिनेत्री विपना थापाको अभिनय रहेको चलचित्र ‘मुग्लान’ को गीत ‘दशैँ आयो’ नेपाली दर्शकमाझ हरेक दशैँमा गुञ्जिने गीतमध्ये एक हो । वर्षौं बितिसक्दा पनि यो गीतको लोकप्रियता घटेको छैन । अभिनेत्री थापाका अनुसार गीतको छायाङ्कन गर्दाकै दशैँमय वातावरण र दर्शकले गीतलाई मन पराउने विश्वासले यसलाई विशेष बनाएको थियो ।

नेपाली चलचित्रमा एक समय व्यस्त अभिनेत्रीका रूपमा परिचित थापा पछिल्लो समय पुनः अभिनयमा सक्रिय छिन् । विवाहपछि लामो समय पारिवारिक जीवनमा बिताएकी उनी चलचित्र ‘ह्रस्व दीर्घ’ मार्फत नेपाली चलचित्र क्षेत्रमा फर्किएकी हुन् । त्यसयता उनले अभिनयलाई निरन्तरता दिइरहेकी छन् ।

‘मैले परिवारलाई दिनुपर्ने समय दिएँ । त्यसपछि मेरो अर्को परिवार फिल्मकर्मीलाई अब म काम गर्न तयार छु भनेर जानकारी दिएँ,’ उनले भनिन् ।

यसपटकको दशैँ उनका लागि थप विशेष छ । उनले अभिनय गरेको चलचित्र ‘आ बाट आमा २’ असोज ३० देखि प्रदर्शनमा छ । चलचित्रको प्रतिक्रिया लिन उनी दर्शकमाझ पुगिरहेकी छन् ।

कोदो फुल्ने समयमा छायाङ्कन

अभिनेता सुशील क्षेत्रीसँग अभिनय गरेको चलचित्र ‘मुग्लान’ को ‘दशैँ आयो’ गीतले विपनालाई दशैँसँग जोडिएको सम्झना दिएको छ । उनीहरू नाताले दाजुबहिनी हुन् । चलचित्रमा सँगै काम गर्दा सहज भएको उनको अनुभव छ ।

‘त्यो गीत त्यतिबेला कोदो फुल्ने समयमा नै छायाङ्कन गरिएको थियो । दशैँकै माहोल थियो, सबैले नयाँ कपडा र दशैँको टीका लगाएर छायाङ्कन गरेका थियौँ । फिल्मी परिवारसँग दशैँ मनाएको अनुभूति भएको थियो,’ उनले भनिन् ।

गीतले दर्शकको मन जित्ने विश्वास आफूहरूलाई छायाङ्कनकै क्रममा भएको उनले बताइन् । त्यही गीत हरेक वर्ष दशैँमा गुञ्जिँदा आफूलाई खुसी लाग्ने उनको भनाइ छ ।

यस वर्ष अर्को दशैँ गीतको आशा

विपना यस वर्ष आफ्नो अभिनय रहेको चलचित्र ‘आ बाट आमा २’ को गीत ‘रातो टीका लगाउँदा क्या दामी देखियो’ पनि दर्शकमाझ लोकप्रिय हुनेमा आशावादी छिन् ।

‘आउँदो दशैँदेखि मेरा दुई गीत बज्छन्, यसमा म ढुक्क छु । किनकि ‘मुग्लान’ को झैँ यसपटक छायाङ्कन गर्दा मैले दशैँको माहोल महसुस गरेकी थिएँ,’ उनले भनिन् ।

बालकलाकारदेखि अभिनेत्री

काठमाडौँको स्यूचाटारमा जन्मिएकी विपनाको परिवारका सदस्य राजनीतिमा सक्रिय थिए । तर, उनको रुचि भने सानैदेखि कलाक्षेत्रमा थियो । चर्चित नृत्याङ्गना विमला श्रेष्ठ छिमेकी भएकाले पनि उनी नृत्य र अभिनयतर्फ आकर्षित भइन् ।

निर्देशक रेशराज आचार्यको टेलिफिल्म ‘आमा’ मा बालकलाकारका रूपमा अभिनय गर्दै उनले कलाकारिता सुरु गरेकी थिइन् । उक्त टेलिफिल्म प्रसारण नभए पनि उनको अभिनय यात्रा अघि बढ्यो ।

त्यसपछि निर्देशक मोहन निरौलाले उनलाई चलचित्रमा अभिनय गर्ने प्रस्ताव राखे । परिवारसँगको छलफलपछि उनले ‘जन्मभूमि’ बाट चलचित्रमा प्रवेश गरिन् । पहिलो चलचित्रमा उनले पाँच हजार रुपैयाँ पारिश्रमिकसँगै केही चकलेट पाएकी थिइन् ।

करिब एक सयभन्दा बढी चलचित्रमा अभिनय गरेकी विपना विवाहपछि पारिवारिक जिम्मेवारीमा व्यस्त भइन् । चलचित्र ‘वरमाला’ मा अभिनय गर्दा पाँच लाख रुपैयाँ पारिश्रमिक पाएको प्रसङ्ग पनि उनी सम्झिन्छिन् । त्यतिबेला उक्त पारिश्रमिकले चलचित्र क्षेत्रमा चर्चा पाएको उनको भनाइ छ ।

अब चलचित्र निर्माण गर्ने चाहना

लामो समयपछि चलचित्र क्षेत्रमा फर्किएकी विपना अहिले अभिनयमा रमाइरहेकी छन् । परिवारप्रतिको जिम्मेवारी पूरा गरेपछि पुनः कलाकारितामा सक्रिय भएको उनी बताउँछिन् ।

‘मैले बुहारीका रूपमा आफ्नो कर्तव्य पूरा गर्नुपर्ने थियो । श्रीमान्, सासु र बच्चालाई हेरचाह गर्नुपर्ने दायित्व थियो । एक किसिमको जिम्मेवारी पूरा गरेकाले पुनः फिल्ममा सक्रिय छु,’ उनले भनिन् ।

अहिले छोराको पढाइलाई प्राथमिकता दिइरहेकी उनले परीक्षा सकिएपछि आगामी योजनाबारे सोच्ने बताएकी छन् । अभिनयसँगै भविष्यमा चलचित्र निर्माण गर्ने उनको चाहना छ ।

‘म फिल्म बनाउने सोचले नै फर्किएकी हुँ, तर अहिले नै बनाउने भन्ने होइन । भविष्यमा अवश्य फिल्म बनाउने छु,’ उनले भनिन् ।

वर्षौंको विश्रामपछि चलचित्रको छायाङ्कनस्थलमा बिताउने समयले आफूलाई आनन्द दिइरहेको विपनाको भनाइ छ । अभिनयमा पुनः सक्रिय उनी आगामी दिनमा चलचित्र निर्माणमा समेत अघि बढ्ने योजनामा छिन् ।