नेपालबाट चीनमा राँगाभैंसीको मासु निर्यात सम्झौता

नेपालबाट चीनमा राँगाभैंसीको मासु निर्यात सम्झौता


काठमाडौँ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्न सम्झौता भएको छ । नेपालबाट राँगाभैंसीको मासु चीन निर्यात गर्ने विषयमा हिमालयन फुड इन्टरनेसनल प्रालि र चीनको सांघाई जियान फुड प्रालिबीच सम्झौता भएको हो ।

सोमबार भएको दुई पक्षीय सम्झौता कार्यक्रममा कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले नेपाल-चीनबीच पशुजन्य उत्पादनको व्यापार सहजीकरणमा यो सम्झौता कोशेढुंगा हुने बताए ।

प्रधानमन्त्रीको चीन भ्रमणको समयमा नेपाल र चीनबीच राँगाभैंसीको मासु निर्यात गर्ने विषयमा सम्झौता भएको स्मरण गराउँदै उनले यो सम्झौताले नेपाली किसानलाई राँगाभैंसी पालनमा थप प्रोत्साहन मिल्ने बताए ।

नेपालको हावापानी र विविध भौगोलिक बनोट पशुपालनका लागि उत्कृष्ट रहेको उनको भनाइ थियो ।

नेपालमा रागाँभैंसीपालन समाजको अभिन्न अंगको रूपमा रहेकोले यसको दिगो उत्पादन तथा उपलब्धता सुनिश्चित रहेको उनको भनाइ छ ।

विगतको तुलनामा नेपालमा विकासको रफ्तार बढेको भन्दै उनले गाउँबेसीसम्म बाटोघाटोको पहुँच पुगेसँगै ग्रामीण क्षेत्रमा उत्पादन गरिएका दूध तथा मासुलाई बजार पुर्‍याउन सहज भएको बताए ।