बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा

बेली ब्रिज नबन्दा दशैँमा घर फर्किने यात्रु तुइनको सहारामा


नुवाकोट । नुवाकोटको सिमुटारबाट गुम्बाडाँडासम्म दशैँमा घर फर्किने यात्रुहरू तुइन र जिपलाइनको सहारा लिन बाध्य छन्। समयमै बेली ब्रिज निर्माण सम्पन्न नहुँदा उनीहरूले जोखिम मोलेरै यात्रा गर्नुपरेको हो। दुई दिनअघि नै सञ्चालनमा आउने भनिएको बेली ब्रिजको उद्घाटन विहीबार मात्र हुँदैछ। पुल सञ्चालनमा नआउँदा यात्रुहरूले घण्टौँ प्रतीक्षा गरेर तुइनबाट नदी पार गर्नुपर्ने बाध्यता छ।

दशैँ मनाउन घर फर्किंदै गरेकी विदुर नगरपालिका–१३ की मायाँ तामाङ तुइन चढ्नुअघि करिब एक घण्टा पालो कुर्नुपरेको बताउँछिन्। “एक घण्टा वेटिङ बस्यौँ, बल्लबल्ल पालो आयो। डर त खासै लागेन तर तुइनभन्दा झोलुङ्गे पुल भएको भए अलि सजिलो हुन्थ्यो,” उनले भनिन्।   सडक अवरुद्ध हुँदा दैनिक उपभोग्य सामग्रीको मूल्यसमेत बढेको उनको भनाइ छ। “असर त धेरै परिरहेको छ। सामानहरू धेरै महँगो भइरहेको छ, बाटो धेरै लामो भइसक्यो। त्यही भएर चाँडै बेलीब्रिजको व्यवस्था हुनुपर्छ, बाटो पनि चाँडो बन्नुपर्यो,” तामाङले थपिन्।
चाडपर्वका बेला घर फर्किने यात्रुको चाप बढिरहेका बेला पुल निर्माणमा भएको ढिलाइले स्थानीयवासी तथा यात्रु थप समस्यामा परेका छन्। बेली ब्रिज सञ्चालनमा आएपछि तुइन र जिपलाइनको सहारा लिनुपर्ने बाध्यता हट्ने र आवागमन सहज हुने अपेक्षा गरिएको छ।