काठमाडौं । नेपाली कांग्रेसको जारी १५औँ महाधिवेशनमा महिला खुलातर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित विनिता खड्काको मतपरिणाम र प्रमाणपत्र रोक्ने निर्णय गरिएको छ।
इजरायलमा केयरगिभर पठाउने बहानामा १५६ जनाभन्दा बढी नागरिकबाट २ करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी र सङ्गठित अपराधको आरोप लागेकी खड्काले २ हजार ८६६ मत प्राप्त गरी विजयी भएकी थिइन्। तर, उनीविरुद्ध अदालतमा गम्भीर मुद्दा विचाराधीन रहेकाले कानुनी प्रक्रियाको पूर्ण टुङ्गो नलागेसम्म पार्टी निर्वाचन समितिले उनको नतिजा औपचारिक रूपमा होल्डमा राखेको जनाएको छ।
यससँगै महिला खुलातर्फ १५ जना केन्द्रीय सदस्य हुनुपर्नेमा हाल १४ जनालाई मात्र निर्वाचित घोषणा गरिएको छ। खड्कालाई असोज २३ गते केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको थियो भने अदालतको आदेशपछि हाल उहाँ थुनाबाहिरै रहेर अनुसन्धानको सामना गरिरहनुभएको छ।

प्रतिक्रिया