नापी विभागका पुर्वमहानिर्देश श्रेष्ठलाई माइलफस्की अवार्ड प्रदान

नापी विभागका पुर्वमहानिर्देश श्रेष्ठलाई माइलफस्की अवार्ड प्रदान


काठमाडौँ। बेलायतको डरहम विश्वविद्यालयको सेन्टर फर इन्टरनेसनल बाउन्ड्री रिसर्च युनिट (आइब्रु) ले सीमाविद् बुद्धिनारायण श्रेष्ठलाई ‘रेमण्ड माइलफस्की अवार्ड-२०२४’ प्रदान गर्ने निर्णय गरेको छ ।

सीमाको पहिचान र सीमा विवाद समाधानमा समर्पित भएको भन्दै श्रेष्ठलाई उक्त अवार्ड प्रदान गर्ने निर्णय गरिएको हो । पुरस्कारको राशि ७४५ स्टर्लिङ पाउन्ड (करिब १ लाख २७ हजार १८८ नेरु) छ ।

सन् १९९२मा नेपालको नापी विभागको महानिर्देशकको रूपमा काम गरेपछि श्रेष्ठले सीमा व्यवस्थापनका क्षेत्रमा काम गरेका थिए । नेपालको सीमा सम्बन्धी १४ वटा पुस्तकहरू प्रकाशित छन् ।

आइब्रुका निर्देशक फिलिप स्टाइनबर्गले लेखेका छन्, ‘बुद्धिनारायण श्रेष्ठले नेपाल र अन्तर्राष्ट्रिय सीमा निर्धारणमा महत्त्वपूर्ण योगदान दिएका छन् र हामी उनलाई माइलफस्की अवार्डले सम्मान दिन पाउँदा गर्व गर्छौँ ।’

माइलफस्की पुरस्कार प्रत्येक वर्ष सीमा निर्माण वा सीमापार सहयोग गर्ने व्यक्ति वा संस्थालाई दिइन्छ । अमेरिकी विदेश विभागमा लामो समय सीमा विशेषज्ञ रहेका रेमण्ड माइलफस्कीको नामबाट यो अवार्ड प्रदान गरिन्छ । उनी आइब्रु प्रशिक्षण कार्यशालाहरूमा प्रशिक्षक थिए ।