बन्दीपुर गाउँपालिकाले गर्‍यो पर्यटन वर्ष घोषणा, दुई लाख पर्यटक भित्र्याउने लक्ष्य

बन्दीपुर गाउँपालिकाले गर्‍यो पर्यटन वर्ष घोषणा, दुई लाख पर्यटक भित्र्याउने लक्ष्य


काठमाडौं। पर्यटन प्रवर्धन गर्ने उद्देश्यले तनहुँको बन्दीपुर गाउँपालिकाले ‘बन्दीपुर भ्रमण वर्ष २०२५’ घोषणा गरेको छ।

बन्दीपुरमा जतिसक्दो धेरै पर्यटक भित्र्याएर आर्थिक गतिविधि बढाउने उद्देश्यले गाउँपालिकाले भ्रमण वर्ष घोषणा गरेको गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाले बताए।

‘बन्दीपुरमा पर्यटक आगमन संख्या वार्षिक दुई लाख पुर्‍याउने उद्देश्यसहित भ्रमण वर्ष घोषणा गरिएको हो,’ अध्यक्ष थापाले भने, ‘पर्यटकलाई आकर्षित गर्न हामी वर्षभरि नै विभिन्न कार्यक्रम गर्नेछौं।’

भ्रमण वर्ष सफल पार्न गाउँपालिकाले पर्यटन व्यवसायी बैश गुरुङको संयोजकत्वमा २१ सदस्यीय सचिवालय गठन गरेको छ। सचिवालयमा होटल संघ, रेष्टुरेन्ट तथा बार एसोसिएसन (रेवान), पर्यटन विकास समिति, उद्योग वाणिज्य संघ, होमस्टे महासंघलगायतको प्रतिनिधित्व छ।

सचिवालयका संयोजक गुरुङले बन्दीपुरमा आन्तरिक एक लाख र विदेशी एक लाख पर्यटक भित्र्याउने योजनासहित प्रवर्धनात्मक कार्यक्रम गर्ने बताए। ‘भ्रमण वर्षमा वार्षिक एक लाख आन्तरिक र एक लाख विदेशी पर्यटकलाई बन्दीपुरमा बास बसाउने योजना बनाएका छौं,’ उनले भने।

गुरुङका अनुसार भ्रमण वर्षमा पर्यटकको औसत बसाइ तीन दिन बनाइनेछ भने विदेशी पर्यटकको दैनिक औसत खर्च ७५ अमेरिकी डलर र नेपाली पर्यटकको औसत खर्च दैनिक तीन हजार रुपैयाँ पुर्‍याइनेछ।

बन्दीपुर गाउँपालिकामा १२० होटल र १२ वटा होमस्टे सञ्चालनमा छन्। जसमा दैनिक एक हजार ७०० जना अट्ने क्षमता छ।
भ्रमण वर्ष सफल पार्न ४ करोड ४३ लाख ५० हजार रुपैयाँ खर्च हुने गाउँपालिकाको अनुमान छ।