काठमाडौँ। नेकपा माओवादी केन्द्रका सांसदहरूले संसदीय समितिको क्यालेन्डर आवश्यक रहेको बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा अन्तर्गतको पूर्वाधार तथा विकास समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका सांसदहरूले क्यालेन्डर बनाएर समितिको कामलाई व्यवस्थित गर्न आवश्यक रहेको बताएका हुन् ।
माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले कोरम समस्या समाधानका लागि क्यालेन्डर आवश्यक रहेको पनि बताए ।
‘संसदीय समितिको पनि क्यालेन्डर बनाऔँ । कोरम समस्या समाधान गर्न पनि सहज हुन्छ,’ बस्नेतले भने, ‘सांसदले पनि क्यालेन्डर हेरेर आफ्नो कार्यक्रम बनाउन सक्छन् । यस कारण क्यालेन्डर अनिवार्य गरौँ ।’
माओवादीका अर्का सांसद माधव सापकोटा सुबोधले पनि क्यालेन्डर आवश्यक रहेको बताए ।
‘क्यालेन्डर सहमतिमा बनाएपछि त्यो पालना नगर्ने सांसद स्वयम् जिम्मेवार हुनुपर्छ । अन्यथा क्यालेन्डरले सहज बनाउँछ, यो बनाऔँ,’ उनले भने ।
प्रतिक्रिया