जलविद्युत्‌मा ढुक्क भएर लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह

जलविद्युत्‌मा ढुक्क भएर लगानी गर्न ऊर्जामन्त्री खड्काको आग्रह


काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले ढुक्कले जलविद्युत् क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् ।

शुक्रबार काठमाडौँमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) को २५ औँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

सरकारले जलविद्युत् उत्पादनमा देखिएका समस्या समाधान गर्ने बताउँदै ढुक्क भएर लगानी गर्न आग्रह गरे । मुलुकको अवरोध गरेका सबै कुरालाई फुकाउँदै अगाडि बढेको उनले बताए ।

‘जलविद्युत् उत्पादनमा समस्याहरू छन् । तर समस्याको समाधान सरकारले नै गर्ने हो । सरकार र निजी क्षेत्र मिलेर नै समस्या समाधान गर्ने हो । समृद्धि, सुशासन, रोजगारी सिर्जनाका लागि नै काम गर्ने हो,’ ऊर्जामन्त्री खड्काले भने, ‘सरकार र निजी क्षेत्रको लक्ष्य एउटै हो । निजी क्षेत्रले ढुक्क भएर लगानी गर्न आग्रह गर्न चाहन्छु ।’

सरकार निजी क्षेत्रसँग मिलेर नै अगाडि बढ्ने बताउँदै डर नमानी, खुट्टा नकमाई जलविद्युत्मा लगानी गर्न पनि उनले आग्रह गरे ।

जलविद्युत् उत्पादनमा समस्याहरू रहेको सरकारलाई जानकारी रहेको सुनाउँदै समस्याको समाधान सरकारले गर्ने पनि उनले बताए ।

‘निजी क्षेत्रका समस्याहरू सरकारले राम्रोसँग बुझेको छ । पीपीएका कुरा आएका छन् । पीपीए रोकिँदैन । सरकारले लिएको लक्ष्य पूरा गर्नुको लागि पीपीए रोक्नुको कारण छैन,’ ऊर्जामन्त्री खड्काले भने, ‘सबै समस्याहरूको समाधान गरेर यो सरकार अगाडि जान्छ । नीतिमा सुधार गर्नुपर्छ भने सरकारले नीतिमा सुधार गर्छ । मुलुकलाई हेरेर समृद्धिका निम्ति ऐन संशोधन गरे अध्यादेश ल्यायौँ । राम्रो काम गर्नको लागि विवाद र रुवाबासी गर्नु पर्ने कारण छैन ।’