काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका घर भएका हाल काठमाडौँ महानगरपालिका-२६ बस्ने ५५ वर्षीया चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका-५ बस्ने ५४ वर्षीया सरिता कुमारी यादव रहेका छन् ।
प्रहरीका अनुसार पक्राउमध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ पीडितहरूबाट ४२ लाख रुपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको थियो । सम्पर्कविहीन भएपछि पिडितले दिएको उक्त उजुरीको आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई बौद्धबाट बिहीबार र सरितालाई आफ्नै निवास ललितपुरबाट शुक्रबार पक्राउ गरेको हो ।
हाल पक्राउ परेका चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया