नेता र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न माग

नेता र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न माग


काठमाडौँ। राप्रपा कोशी प्रदेश संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले २०४६ सालको राजनीतिक परिवर्तनपछि नेतृत्व तहमा पुगेका नेता र उच्चपदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका छन् ।

सोमबार सुरु प्रदेश सभाको छैटौँ अधिवेशनको पहिलो बैठकमा बोल्दै उनले उच्चपदस्थ कर्मचारी र राजनीतिक नेतृत्वको सम्पत्ति छानबिन गर्नुपर्ने बताएका हुन् ।

‘२०४६ सालपछि राजनीतिको नेतृत्व तहसम्म पुगेका, संसद भएका व्यक्ती, अधिकृतभन्दा माथि सबै उच्च पदस्थ कर्मचारीको सम्पत्तिमा एक पटक पुनरावलोकन गर्नुपर्छ,’ उनले भने,‘इमान्दारिता छैन भने त्यो सम्पत्ति गलत ढंगले आम्दानी गरेको छ भने त्यसमा छानबिन हुनपर्छ, आग्रहपूर्वाग्रहबिना ।’

दुई ठूला दल मिलेर बनेको सरकारले काम गर्न नसके जनताले कठोर निर्णय लिन सक्ने उनको भनाइ छ। ‘अब पनि सरकारले जनतालाई सही रूपमा अपेक्षा अनुसार काम गर्न सकेन भने राजनीतिक रूपमा जनताले फेरि अर्को निर्णय लिन सक्छन्, त्यो निर्णय कठोर हुनसक्छ, त्यसप्रति सचेत हुन आवश्यक रहेको छ।’