काठमाडौँ। वैदेशिक रोजगारीमा विदेश पठाउने नाममा ३० लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बाग्लुङको ताराखोला गाउँपालिका-३ का ३४ वर्षीय तिलकबहादुर कार्की, प्युठानको नौ बाहिनी गाउँपालिका-६ का ३६ वर्षीय हरिबहादुर विष्ट र स्याङ्जाको गल्याङ नगरपालिका-८ कि ३४ वर्षीया जमुना परियार छन् ।
उनीहरूलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।
कार्कीले युके पठाउने भन्दै एक जनाबाट १ लाख, विष्टले अमेरिका पठाउने भन्दै दुई जनाबाट २ लाख र परियारले अष्ट्रेलिया पठाउने भन्दै एक जनाबाट २८ लाख रुपैयाँ ठगी गरेको आरोप छ ।
पक्राउ परेका तीनै जनालाई कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहचल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया