अदालत हाजिर हुन भैरहवा पुगे रवि लामिछाने

अदालत हाजिर हुन भैरहवा पुगे रवि लामिछाने


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने भैरहवा पुगेका छन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै भैरहवा पुगेका हुन् ।

बुटवलको सुप्रिम सहकारी अपचलनको मुद्दा दायर भएपछि अदालत हाजिर हुन उनी मंगलबार भैरहवा गएका हुन् । बुद्ध एयरको विमानमार्फत मंगलबार दिउँसो उनी भैरहवा पुगेका हुन् ।

भैरहवास्थित होटेल मेरी गोल्डमा लामिछानेले पार्टीका कार्यकर्तासँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । रास्वपा स्रोतका अनुसार भोलि (बुधबार) उनी अदालत हाजिर हुनेछन् ।

लामिछाने पोखराको सूर्यदर्शन सहकारीमा जिल्ला अदालत कास्कीबाट ६५ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए ।

लगत्तै उनीविरुद्ध कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा परेको मुद्दामा बयान दिन काठमाडौँ जिल्ला अदालत हाजिर भएका थिए ।

काठमाडौँ मा पनि उनी ६० लाख रकम धरौटी बुझाएर रिहा भएका थिए । उनी धरौटीमा रिहा भएपछि रुपन्देही प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो ।