काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कुनै पनि वित्तीय संस्थाहरूलाई राष्ट्र बैंकले घाटामा पर्न नदिने आश्वासन दिएका छन् । बिहीबार राष्ट्रिय वाणिज्य बैंकको वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् ।
सबै वित्तीय संस्थाहरूलाई नजिकबाट राष्ट्र बैंकले नियालिरहेको समेत उनले जानकारी दिए । ‘खराब कर्जा त्यति धेरै पनि छैन । कुनै पनि निक्षेपकर्तालाई घाटामा पर्न, डुब्न दिनेवाला छैनौँ । अप्ठ्यारो परेको संस्थालाई के गर्ने भन्नेबारे हामीले गर्छौँ’, गभर्नर अधिकारीले भने ।
वित्तीय संस्थाप्रति अफवाह फैलाइएको भन्दै उनले गुनासो समेत गरे । गभर्नर अधिकारीले भने, ‘कतिपयले अहिले बैंक तथा वित्तीय संस्थाहरू समस्यामा छन् भने हल्ल फैलाइरहेका छन् । अफवाह फैलाउने, चाहिने नचाहिने कुराहरू सामाजिक सञ्जालमा राख्ने गरेका छन् । मिडियामा छोटो कुरा आउने तर वास्तविकता नल्याएर मानिसहरूमा भ्रम छरिदिने काम भइरहेको पाइएको छ ।’
बैंक तथा वित्तीय संस्थाहरूमा उतारचढाव आउँछ । यसलाई हामीले स्वाभाविक रूपमा लिनुपर्ने बताउँदै गभर्नरले अगाडि भने, ‘कुनै संस्था समस्यामा भयो भने त्यसको डेटा राष्ट्र बैंकसँग हुन्छ । त्यसलाई कसरी व्यवस्थापन गर्ने जिम्मेवारी हाम्रो हो । राष्ट्र बैंकले नियमन गरेको संस्थाका बचतकर्ताहरूलाई कुनै पनि हालतमा समस्यामा पर्न दिँदैनौँ । त्यो हाम्रो प्रत्याभूति नै हो । बाहिर हल्लाका पछाडि कोही लाग्न हुँदैन ।’
त्यस्तै, उनले राष्ट्रिय वाणिज्य बैंकलाई यस ठाउँमा ल्याउनका लागि राष्ट्र बैंकको पनि महत्त्वपूर्ण भूमिका रहेको जानकारी दिए । यस बैंकको सेवा तथा व्यवसाय विस्तारका लागि सधैँ राष्ट्र बैंकले साथ दिने समेत उनले प्रतिबद्धता जनाए ।
प्रतिक्रिया