इन्डोनेसियामा बाढीपहिरोका कारण २१ जनाको मृत्यु

इन्डोनेसियामा बाढीपहिरोका कारण २१ जनाको मृत्यु


काठमाडौँ । इन्डोनेसियाको मुख्य टापु जाभामा गत सोमबार आएको बाढी पहिरोका कारण २१ जनाको मृत्यु भएको छ ।

सोमबारको भारी वर्षापछि सेन्ट्रल जाभा प्रान्तको पेकालोंगान क्षेत्रमा रहेका नौ गाउँहरूमा बाढी पसेको थियो । त्यस्तै पहाडको तल रहेका गाउँहरूमा पहिरो खसेको थियो

इन्डोनेसियाको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीले सार्वजनिक गरेको तस्बिर र भिडियोहरूमा त्यस क्षेत्रका घरहरू पुरिएको दृश्य देखिएका छन् ।

इन्डोनेसियाको विपद् व्यवस्थापन एजेन्सीका प्रवक्ता अब्दुल मुहारीका अनुसार बाढीका कारण पहिरो गएर पेटुंगक्रियोनो रिसोर्ट क्षेत्रको दुई वटा घर र एउटा क्याफे पुरिएको थियो । बाढी पहिरोले २५ वटा घर, एउटा बाँध र गाउँहरू जोड्ने तीन वटा पुलहरू नष्ट भएको थियो ।

दुर्घटनाका कारण कम्तीमा १३ जना घाइते भएका छन् भने झन्डै ३ सय जना मानिसहरू अस्थायी सरकारी आश्रयस्थलमा बसेका छन् । बेपत्ता भएका थप पाँच जनाको खोजी कार्य जारी छ ।

मंगलबार दिउँसो भारी वर्षा र बाक्लो कुहिरोका कारण उद्धार कार्य रोकिएको थियो । खराब मौसम, पहिरो, र दुर्गम भू-भाग भएका कारण खोज तथा उद्धार कार्य कठिन भएको थियो । नदी किनारका प्रभावित क्षेत्रमा उद्धार गर्न उद्धारकर्मीहरूका लागि पनि जोखिमपूर्ण भएकाले स्थगित भएको खोजी कार्य बुधबार पुनः थालिएको थियो ।