धरान। धरान उपमहानगरपालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ)ले खानेपानी मन्त्री प्रदीप यादवप्रति व्यंग्यात्मक शैलीमा टिप्पणी गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै उनले सिंहदरबारमा आफूले बोकेको ‘थोत्रो गाग्री’ले मन्त्रीलाई तर्साएको व्यंग्य गरेका हुन्।
उनले आफ्नो स्ट्याटसमा लेखेका छन्, “थोत्रे गाग्री भुत छोड्द्या थेँ सिंह दरबार तिर तर्साको तर्साकै रैछ! मन्त्री कराउँदै गर्या देखेथेँ!”। यो व्यंग्य मन्त्री यादवको पछिल्लो पत्रकार सम्मेलनलाई लक्षित गर्दै लेखिएको देखिन्छ।
मन्त्री यादवको टिप्पणीको जवाफ
मन्त्री यादवले यसअघि मेयर साम्पाङमाथि खानेपानी समस्या समाधानमा ‘ड्रामा’ गरेको आरोप लगाउँदै भनेका थिए, “म सक्षम छु रे, किन गर्नुभएन? किन खानेपानी मन्त्रालय गुहार माग्न आउनुभयो? सक्षम हुनुहुन्छ भने काम गर्नुपर्थ्यो नि!”
सम्बन्धित समाचार : खानेपानी मन्त्री यादवको मेयर साम्पाङलाई प्रश्न- ‘म सक्षम छु रे, किन गर्नुभएन ?’
मन्त्री यादवले मेयर साम्पाङलाई गम्भीर भएर काम गर्न सुझाव दिएका थिए। तर, मेयर साम्पाङले ‘थोत्रो गाग्री’को प्रसंगलाई व्यंग्यात्मक रूपमा उठाएर मन्त्रीको भनाइलाई चुनौती दिएको स्पष्ट देखिन्छ।
‘गाग्रीको राजनीति’ले थप तातो बहस
धरानको खानेपानी समस्या समाधानका लागि केही दिनअघि मेयर साम्पाङ थोत्रो गाग्री बोकेर सिंहदरबार पुगेका थिए। सुरक्षाकर्मीले गाग्री भित्र लैजान रोकेपछि यो विषय व्यापक चर्चाको विषय बन्यो।
गाग्री बोकेर सिंहदरबार पुगेका मेयर साम्पाङले खानेपानी मन्त्री यादवसँग भेट गरेर आफ्नो माग राखेका थिए। तर, मन्त्री यादवले यो घटनालाई प्रचारबाजीको संज्ञा दिँदै मेयरलाई गम्भीरतापूर्वक काम गर्नुपर्ने सन्देश दिएका थिए।
धरानका नागरिकको अपेक्षा
धरानका जनताले पानी समस्याको समाधानका लागि संघीय र स्थानीय सरकारबीच सहकार्यको आवश्यकता औँल्याइरहेका छन्। मेयर साम्पाङका समर्थकले उनलाई ‘धरानको आवाज बुलन्द गर्ने नेता’को रूपमा समर्थन गरिरहेका छन् भने आलोचकले समस्या समाधानको नाममा ‘प्रचारमुखी शैली’ अपनाएको आरोप लगाइरहेका छन्।
अब, मन्त्री यादव र मेयर साम्पाङबीचको यो बहसले धरानको पानी समस्यालाई दीर्घकालीन समाधानमा लैजान सक्नेछ कि विवादलाई मात्र थप बल दिनेछ भन्ने प्रश्न खडा भएको छ।
मन्त्री र मेयरका ‘स्टन्ट’को चर्चा
पछिल्लो समय मन्त्री यादव र मेयर साम्पाङ दुवैजना आ-आफ्ना कदम र भनाइका कारण चर्चामा छन्। एकातिर, मन्त्री यादवले संघीय सरकारको पहलमा खानेपानी समस्या समाधानको दाबी गरेका छन् भने अर्कोतिर, मेयर साम्पाङले आफ्नो शैलीमा धरानको समस्या उजागर गर्दै आलोचकहरूलाई चुनौती दिइरहेका छन्।
धरानका जनताले भने यो विवादभन्दा व्यवहारिक समाधान चाहिरहेका छन्। अहिलेको तातो बहसले धरानको पानी समस्या समाधानको बाटो खोल्छ कि झन् जटिल बनाउँछ भन्ने समयले देखाउनेछ।
सम्बन्धित समाचार : अख्तियारलाई हर्क साम्पाङको जवाफ: श्रमदान अभियानको खेदो नखन्नु, तिर्खाएका मानिसहरूको श्राप लाग्ला
प्रतिक्रिया