माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा सम्पन्न

माथेमाले सहादत प्राप्त गरेको स्थान सिफल उकालोमा स्मृति सभा सम्पन्न


काठमाडौँ । सहिद धर्मभक्त माथेमाले सहादत प्राप्त गरेको स्थान काठमाडौँको सिफल उकालोमा आज स्मृति सभा सम्पन्न भएको छ ।

सहिद सप्ताह आयोजक समितिको आयोजनामा प्रजातन्त्र प्राप्तिका लागि धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको दिन आज सोही स्थानमा स्मृति सभा गरिएको हो ।

सभा गरिएको स्थानभन्दा करिब ५ मिटर पूर्वमा २०५३ सालमा माथेमाको अर्धकदको सालिक स्थापना गरिएको थियो । सडक विस्तारका क्रममा सालिक भत्काउनु पर्ने भएपछि सालिकलाई साबिकभन्दा पश्चिमतर्फ सारिएको थियो । यसरी सार्ने क्रममा पुरानो कालो रंगको अर्ध कदको प्रस्तर शालिकको सट्टा नयाँ सेतो रंगको ढलोटको सालिक बनाइएको थियो । यस स्थानलाई सुधार गर्दै महानगरले २०७६ सालमा पूर्ण कदको सालिकसहित पूर्वाधार विकास गरेको छ । यही स्थानमा स्मृति सभा गरिएको हो ।

सहिदको सालिकमा पुष्पगुच्छा अर्पण गर्दै काठमाडौँ महानगरका उपप्रमुख सुनिता डंगोलले, जनमानसमा सहिदको योगदान पुर्‍याउन काम गरिएको बताइन् । माथेमाले प्रजातन्त्र प्राप्तिका लागि खेल्नु भएको भूमिका र सामाजिक रूपान्तरणमा पुर्‍याउनु भएको योगदानको चर्चा गर्दै डंगोलले भनिन्, ‘माथेमामा राजनीतिक चेतना थियो । उहाँ शारीरिक सुगठन (व्यायाम) का प्रवर्धक हुनुहुन्थ्यो । राजालाई व्यायाम सिकाउने शिक्षक भएर पनि निरङ्कुश शासनविरुद्ध संघर्ष गर्ने उहाँको आँट युवाहरूले सिक्नु पर्ने पाठ हो । स्मरण गर्नु पर्ने इतिहास हो । शासकसँगको सम्बन्धका कारण व्यक्तिगत रूपमा उहाँलाई सुख सुविधा सबै प्राप्त हुन सक्थ्यो । त्यो सुख सयल त्यागेर नागरिक स्वतन्त्रताका लागि ज्यान दिन तयार हुनुभयो । उहाँको बलिदानीका कारण आज हामी मनमा लागेका कुरा यहाँ उभिएर बोलिरहेका छौँ ।’

सभामा वडा नं. ७ का अध्यक्ष बिमल होडाले, असल शासन र विधिको शासनको संस्थागत विकासले मात्र सहिदहरुको सपना पूरा हुने बताए । अधिकार प्राप्तिका कोणबाट नागरिकहरूलाई प्राप्त भएको सुविधा जोगाउन सहिदले देखेको सपनालाई साक्षी राखेर काम गर्नुपर्ने बताउँदै होडाले, यस क्षेत्रमा पुस्तकालय बनाउने योजना सुनाए । त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति केदारभक्त माथेमाले भने, ‘विद्यालय स्तरमा सहिदका आदर्श बुझाउन सके नेपालमा मानव अधिकार र नागरिक स्वतन्त्रता कसरी प्राप्त भयो, जान्न पाउँथे । यसले नागरिकहरूमा अहिले देखिएको नकारात्मक दृष्टिकोण कम गराउन मद्दत हुने थियो ।’

धर्मभक्त माथेमाको परिचय
माथेमा काजी परिवारको थिए, उनलाई नपुग्दो केही थिएन । उनी दरवारभित्रैको पहुँचवाला थिए । उनले आफ्नो सम्पन्नताभन्दा नागरिकको स्वतन्त्रता र समृद्धिलाई महत्त्व दिए । शारिरीक सुगठन प्रतियोगितमा बंगाल च्याम्पियन भएका माथेमा राजा त्रिभुवनका व्यायाम शिक्षक थिए । राजासँगको यो सम्बन्धका कारण वि. सं. १९९४ मा उनले राजालाई समेत प्रजा परिषद्को सदस्य बनाएका थिए । वि. सं. १९९३ जेठ २० गते माथेमाकी फुपूको घर जोरगणेश ओमबहाल टोलमा धर्मभक्त माथेमा, टंकप्रसाद आचार्य, रामहरि शर्मा, दशरथ चन्द, र जीवराज शर्माले प्रजातन्त्र प्राप्तिको संयुक्त प्रतिविद्धताका साथ प्रजा परिषद् गठन गरेका थिए ।

वि.सं. १९९७ साल माघ १३ गते, काठमाडौँको सिफलमा रहेको बकाइनोको रुखमा झुन्ड्याएर उनलाई प्राणदण्ड दिइएको थियो । उनी बलियो भएकोले झुन्ड्याउने क्रममा रुखको हाँगो भाँचिएको थियो । ३ पटकसम्म प्रयास गरेपछि मात्र उनलाई सहादत प्राप्त भएको थियो । त्यस बेला उनी ३१ वर्षको मात्र थिए ।

वि. सं. १९६६ साल आश्विन ९ गते काठमाडौँ ओमबहाल, नवहिलमा जन्मनु भएका माथेमालाई तत्कालीन शासकहरूको विरुद्धमा गतिविधि सञ्चालन गरेको आरोपमा १९९७ कार्तिक २ गते पक्राउ गरिएको थियो ।
तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शम्शेरले वि. सं. १९९७ साल माघ ६ गते शुक्रराज शास्त्री, धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ र दशरथ चन्दलाई ज्यानदण्ड दिने निर्णय गरेका थिए । निर्णय भएको ४ दिनपछि शुक्रराज शास्त्रीलाई टेकु मचलीमा झुन्ड्याएर, ७ दिनपछि धर्मभक्त माथेमालाई सिफल उकालोमा झुन्ड्याएर र ९ दिनपछि दशरथ चन्द र गंगालाल श्रेष्ठलाई विष्णुमती नदी किनार शोभा भगवतीमा गोली हानी ज्यानदण्ड दिइएको थियो ।

माथेमाकी बहिनी मेनका देवीको विवाह शुक्रराज शास्त्रीसँग भएको थियो । प्रजा परिषद्का गतिविधि सञ्चालन गर्ने क्रममा शास्त्रीसँग माथेमाको भेट भएको थियो । धर्मभक्तले प्रतिबन्धित समयमा राणाहरूको स्वीकृति नलिई घरको छिँडीमा विद्यालय खोलेका थिए । फुपूको घरमा युवाहरूलाई व्यायाम सिकाउने ठाउँ बनाएका थिए ।

धर्मभक्त माथेमाको एक भनाइ
यो तुच्छ नश्वर शरीरको आहुति मातृभूमिको बलिवेदीमा चढाउन पाएकोमा मेरो जन्म सार्थक भएको ठान्छु । प्राणदण्ड पाउनु अहोभाग्य ।
देश र जनताको भलाईको निमित्त आफ्नो ज्यान अर्पण गर्दै छु । प्रजातन्त्र ल्याउने कार्यको निम्ति तपाईँहरू सदैव कटिबद्ध हुनुहुनेछ