सभामुखद्वारा संवैधानिक परिषद् विधेयकमा सत्तापक्षको धारणा माग

सभामुखद्वारा संवैधानिक परिषद् विधेयकमा सत्तापक्षको धारणा माग


काठमाडौँ । सभामुख देवराज घिमिरेले संवैधानिक परिषद्सम्बन्धी विधेयकमा सत्तापक्षका सांसदहरूको धारणा मागेका छन् ।

आइतबार सिंहदरवारमा नेपाली काँग्रेस र नेकपा एमालेका प्रमुख सचेतकसँगको छलफलमा सभामुख घिमिरेले उक्त विधेयकबारे धारणा माग गरेका हुन् । संसद्को हिउँदे अधिवेशनको मिति नजिकिएसँगै सभामुख घिमिरेले आफ्नो सक्रियता बढाएका छन् ।

उनले आजै प्रतिपक्षी दलका प्रमुख सचेतकहरूसँग संसद् अधिवेशन, विधेयक, बिजनेस लगायतका विषयमा छलफल गर्न लागेका हुन् । सत्तापक्षका प्रमुख सचेतकहरूसँगको छलफलका क्रममा सभामुख घिमिरेले संवैधानिक परिषद् र मर्यादासम्बन्धी विधेयकबारे धारणा मागेको काँग्रेस प्रमुख सचेतक श्याम घिमिरेले जानकारी दिए ।

‘राष्ट्रिय सभाबाट पारित भएर आएका विधेयकहरू मर्यादासम्बन्धी विधेयकलाई के गर्ने हो ? अगाडि बढाउने कि नबढाउने ? यो विषयमा प्रष्ट पार्नुपर्‍यो,’ सभामुख घिमिरेको भनाइ उद्धृत गर्दै घिमिरेले भने, ‘संवैधानिक परिषदसम्बनधी विधेयक संसद्‌मा गएर अड्कियो भन्ने छ । यसमा के गर्ने हो ? भनेर प्रश्न उठाउनुभयो ।’

यसबारे एमाले मुख्य सचेतक महेश बर्तौलाले सभामुखलाई जवाफ दिएका थिए । उनले संसद्‌मा विचाराधीन सबै विधेयक अघि बढ्ने र संवैधानिक परिषद्सम्बन्धी विधेयक पनि अघि बढ्ने सभामुखलाई बताएका छन् । संसद्को हिउँदे अधिवेशन यही माघ १८ गते आह्वान भएको छ । सोही दिन प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने बताइएको छ ।