काठमाडौँ । नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले संघमा पाँच हजार मात्रै प्रहरी भए पुग्ने विचार राखेका छन् । संसदीय दलको बैठकमा सोमबार बोल्ने क्रममा नेता निधिले संघमा पाँच हजार प्रहरी राखेर बाँकीलाई प्रदेशमा समायोजन गर्नुपर्ने धारणा राखे ।
प्रहरीको संख्या हाल सशस्त्रमा ३६ हजार र जनपदमा ७९ हजार रहेका छन् । निधिले प्रदेशलाई बलियो बनाउन प्रहरीको ठूलो शक्ति प्रदेशमा पठाउनुपर्ने विचार राखेका हुन् ।
‘हामीले प्रदेशलाई अधिकार नदिए नत्र प्रदेशको काम के ? प्रहरी संघमा पाँच हजार भए पुग्छ । अरु संख्या प्रदेशमा पठाए हुन्छ,’ निधिको बोली उधृत गर्दै बैठकमा सहभागी नेताले भने ।
प्रहरीको हालसम्म समायोजन हुन सकेको छैन । निधिले संविधान संशोधनको प्रस्ताव छिटो संसदमा पेश गर्नुपर्ने विचार राखे ।
आइतबार देखि जारी काँग्रेसको संसदीय दलको बैठक माघ १८ गते सकिने भएको छ । सोमबारको बैठकमा सांसदहरुले आफ्ना गुनासा, सुझाव मन्त्रीहरू समक्ष राखेका थिए । १८ गते बिहान बस्ने बैठकमा मन्त्रीहरूले आफ्ना कार्यबारे बताउने कार्यसूची बनाइएको छ ।
प्रतिक्रिया