खाँदबारी–किमाथांका सडकको ‘ब्रेक थ्रु’

खाँदबारी–किमाथांका सडकको ‘ब्रेक थ्रु’


लामो समयदेखि प्रतिक्षित राष्ट्रिय गौरवको आयोजना खाँदबारी-किमाथांका सडक जोडिएको छ । पूर्वी पहाडी जिल्ला संखुवासभाको सदरमुकाम खाँदबारीदेखि किमाथांका सम्मको १६२ किलोमिटर सडक सोमबार ‘ब्रेक थ्रु’ भएको हो ।

सोमबार भोटखोला गाउँपालिकाको च्याम्ताङ्ग पुगेर संखुवासभाका प्रतिनिधिसभा सदस्य एवं उर्जामन्त्री दीपक खड्का, भौतिक पूर्वाधारमन्त्री देवेन्द्र दाहाल र रक्षामन्त्री मानवीर राईको उपस्थितीमा ‘ब्रेक थ्रु’ गरिएको हो । ‘ब्रेक थ्रु’सँगै त्रिदेशीय लिंक सडकमा चीन–भारत–नेपाल जोडिएका छ । उक्त कार्यक्रममा संखुवासभाका पूर्वसांसद तथा एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम पनि सहभागी थिए ।  कार्यक्रमलाई सम्बोधन गर्दै उर्जामन्त्री खड्काले खाँदबारी–किमाथांका सडक जोडिएसँगै त्रिदेशीय पारवाहनमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । संखुवासभा जलविद्युतको धेरै सम्भावना रहेको जिल्ला भएकाले खाँदबारी-किमाथांका सडक सञ्चालनमा आएसँगै अपर अरुण, किमाथांका अरुणलगायतका धेरै आयोजना निर्माणमा सहज हुने बताए ।

भौतिक पूर्वाधारमन्त्री दाहालले खाँदबारी-किमाथांका सडकखण्डको बाँकी काम सम्पन्न गर्न बजेटको अभाव हुन नदिने बताए । सडकको स्तरोन्नती र बाँकी रहेको काम पूरा गर्न सरकारले आवश्यक बजेट विनियोजन गर्ने उल्लेख गरे ।  यसैगरि रक्षामन्त्री राईले खाँदबारी-किमाथांका सडकको कडा चट्टान नेपाली सेनाले फोडेर ट्रयाक ओपन गरी त्रिदेशीय लिंक गराउन सफल भएको बताए । पूर्वको किमाथांका नाका, पश्चिमको हिल्सा नाका र केरुङ नाकालाई सरकारले प्राथमिकतामा राखेको रक्षामन्त्री राईको भनाइ थियो ।

कार्यक्रममा नेपाली सेनाले कामको प्रगतिबारे जानकारी गराएको थियो । भारतको जोगवनीदेखि संखुवासभाको सदरमुकाम खाँदबारी-किमाथांकाहुँदै चीन जोडिएको हो । उत्तरदक्षिण कोसी राजमार्गअन्तर्गत ३ सय ६२ किलोमिटर त्रिदेशीय लिंकको रूपमा रहेको सबैभन्दा छोटो राजमार्ग जोडिएको हो । भोटखोला गाउँपालिकाको च्याम्ताङ–घोङगोप्पाको साढे १० किलोमिटर ट्रयाक खोल्ने कामसेनाले पाँच बर्षअघि सुरु गरेका थिए । शंखेभिरको कडा चट्टान फोर्न बिस्फोटक पदार्थ आवश्यक भएको भन्दै २२ भदौ ०७६ मा मन्त्रिपरिषद् बैठकले सेनालाई सडक निर्माणको जिम्मा दिएको थियो ।

राष्ट्रिय गौरवको जोगबनी-किमाथांका सडकको ‘ब्रेक थ्रु’ गरिएसँगै त्रिदेशीय लिंकको रूपमा उत्तर-दक्षिण कोसी राजमार्ग जोडिएको उत्तर-दक्षिण कोसी सडक आयोजनामा प्रमुख इन्जिनियर रामबहादुर गुरुङले बताए । अहिले नेपाली सेनाले सिंगल लेनको सडकको ट्रयाक खोलेको बताउँदै चैत मसान्तसम्म डबल लेन सडक बनाएर सरकारलाई बुझाउने बताए ।

खाँदबारी देखि किमाथांका सम्म विभिन्न प्याकेजमा तीव्र गतिमा काम भइरहेको आयोजना प्रमुख इन्जिनियर गुरुङको भनाइ छ । उनको अनुसार खाँदबारी-नुम ३९ किमि शर्मा शिवशक्ति जेभीले पक्की गर्ने काम गरिरहेको छ । नुम-फ्याक्सिन्दा ११ किमि विवश ड्रागन जेभी, फ्याक्सिन्दा पुल एक किलोमिटर अरुण तेस्रो जलविद्युत्त आयोजनाद्धारा सडक पक्की बनाएको छ ।  यसैगरी, फ्याक्सिन्दा-बरुण २७ किमि स्वामीनारायण, बरुण-पुल विवस ड्रागन काम गरिरहेको छ भने बरुण-हुङहुङ स्वामीनाराण २८ किमि, हुङहुङ–च्याम्ताङ २१ किमि कोसिसमंगलादेवी सुवाससुन्दरा जेभीले काम गरिरहेको छ । बीचको कडा भाग च्याम्ताङ–घोङगोप्पाको साढे १० किलोमिटर ट्रयाक सेनाले ट्रयाक ओपन गर्ने काम गरेको हो भने त्यहाँ माथि घोङघोप्पा-किमाथांका सडक खन्ने काम सम्पन्न भइसकेको छ ।