काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक बोलाएको छ । बैठक बिहीबार दिउँसो १ बजे संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले जानकारी दिए । माघ १८ गते बस्ने संसदको हिउँदे अधिवेशनको तयारीका लागि बैठक बोलाइएको पाण्डेले जानकारी दिए ।
बिहीबारबाट संसद्को हिउँदे अधिवेशन सुरु हुँदैछ । पार्टीको तर्फबाट सदनमा खेल्नुपर्ने भूमिका, त्यसको तयारी, कानुन निर्माण लगायत विषयमा छलफल गर्न बैठक बोलाइएको उनले जानकारी दिए । केपी ओली सरकारको ६ महिना असफल भएको माओवादीको निष्कर्ष रहेको छ ।
सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको उल्टो बाटो हिँडेको, संसद् छलेर निरङ्कुश तरिकाले अध्यादेशबाट शासन गर्न खोजेको, जनजीविका, राष्ट्रिय एजेण्डाको विषयमा ध्यान नदिएको आरोप लगाउँदै आएको छ । प्रमुख प्रतिपक्ष दलको नेता समेत रहेका प्रचण्डले विपक्षी ७ दलको बैठक बोलाएर सरकारमाथि दबाब दिने रणनीति बनाएका छन् । पाँच बुँदे साझा धारणा बनाएका उनीहरूले सरकारविरुद्ध कडा रूपमा प्रस्तुत हुने बताइरहेका छन् ।
प्रतिक्रिया