काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लक्षित गर्दै सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने जवाफ दिएका छन् ।
एमालेका अध्यक्षसमेत रहेका ओलीले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अस्थिरता मच्चाउन खोज्नेहरूले सरकार ढल्छ भनेर प्रचार गरेको बताए ।
‘प्रचण्ड’ले पछिल्लो समय हरेकजसो भाषणमा सरकार ढल्न लागेको बताउँदै आएका छन् । त्यसतर्फ लक्षित गर्दै उनले भने, ‘सरकार ढल्छ भनेर मिति तोकेका तोकै छन्, यो सरकार ढल्छ २०८४ को निर्वाचनपछि ढल्छ । २०८४ को निर्वाचनमा के परिणाम आएपछि कसरी जान्छ भन्ने हुन्छ । सरकार मंसिरमा ढल्छ, तर मान्छेहरूले अस्ति गएको मंसिर बुझेछन् । २०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।’
प्रधानमन्त्री ओलीले आफू र आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको छ भनेर प्रचार गरेकोप्रति असन्तुष्टिसमेत जनाए ।
उनले पार्टीका सांसदहरुलाई सत्यतथ्यमा आधारित भएर बहस गर्न निर्देशन दिँदै संसदको पहिलो बैठकमै सरकारले ल्याएको अध्यादेश पेस गर्ने जानकारी गराए ।
प्रतिक्रिया