बागमती । यातायात व्यवस्था कार्यालय हेटौँडा मकवानपुरले चालु आर्थिक २०८१/८२ को छ महिनाका अवधिमा रु २९ करोड एक लाखभन्दा बढी राजस्व संकलन गरेको छ ।
नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरणलगायतबाट चालु आव २०८१/८२ को साउनदेखि पुस महिनासम्ममा सो कार्यालयले रु २९ करोड एक लाख ७५ हजार छ सय ५१ राजस्व संकलन भएको कार्यालय प्रमुख प्रविण श्रेष्ठले जानकारी दिए ।
यस्तै चालु आव को सो अवधिमा मोटरसाइकल एक हजार दुई सय ८० वटा, साना सवारी पाँच सय १३ वटा, टेम्पो/ई-रिक्सा तीन सय ३७ वटा, ठूला तथा मझौला सवारी तीन सय २१ वटा र ट्याक्टर पाँच गरी दुई हजार चार सय ५८ नयाँ सवारी दर्ता भएको कार्यालय प्रमुख श्रेष्ठले जानकारी दिए। यस अवधिमा नयाँ दुई हजार एक सय ६३ र वर्ग थप एक हजार चार सय ४८ गरी तीन हजार छ सय ११ जनालाई सवारी चालक अनुमतिपत्र (लाइसेन्स)वितरण गरिएको प्रमुख श्रेष्ठले जानकारी दिए ।
यस्तै सो अवधिमा दुई हजार नौ सय ८४ नवीकरण, ४९ वटा प्रतिलिपि र ३९ वटा नवीकरण र प्रतिलिपि दिइएको जनाएको छ । सो कार्यालयले अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा विभिन्न शीर्षकमा रु ५६ करोड सात लाख १७ हजार राजस्व संकलन गरेको थियो भने चार हजार तीन सय ९९ वटा सवारी साधन दर्ता गरेको थियो ।
प्रतिक्रिया