काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले यो सरकारको सुरुदेखि नै सबैभन्दा पहिलो प्राथमिकता थालेको काम सक्ने बताएका छन् ।
उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै आफूले प्रधानमन्त्री भएपछि संसदबाट विश्वासको मत लिने क्रममा भनेको कुरा पूरा गरेको दाबी गरे । प्रधानमन्त्री ओलीले यो सरकारले थुप्रै विकास निर्माणको कामहरू उपलब्धी हासिल गरेको बताए ।
उनले भने,‘ मैले भनेको थिएँ- यो सरकारको सबैभन्दा पहिलो प्राथमिकता-थालेको काम सक्ने हो । थालेका कामहरूलाई हामीले कहाँ पुर्याउँदै छौँ भनेर यो सदनलाई भन्ने छु ।’
उनले आफ्नो कार्यकालभित्रै सिद्धबाबा सुरुङमार्ग ब्रेक-थ्रु भएको, काठमाडौँ-तराई द्रूत मार्ग अन्तर्गत मकवानपुरको धोद्रे सुरुङ पनि ब्रेक थ्रु भएको उल्लेख गरे ।
साथै विकास निर्माणका काममा ‘ब्रेक-थु’ मात्र होइन ‘ब्रेक’ लगाएर राखिएका कतिपय कामलाई पनि आफू आएपछि ‘थ्रु’ गरेको बताए ।
उनले संसदमा सम्बोधन गर्नुअघि शहीदहरूलाई पनि सम्झिए ।
प्रतिक्रिया