कञ्चनपुरमा कांग्रेस नगर सभापति कलौनीको रहस्यमय मृत्यु

कञ्चनपुरमा कांग्रेस नगर सभापति कलौनीको रहस्यमय मृत्यु


कैलाली । कञ्चनपुरमा शनिवार बिहान मृत फेला परेका कांग्रेस भीमदत्त नगर सभापति अच्युत कलौनीको घटना शङ्कास्पद रहेको भन्दै प्रहरी गहन अनुसन्धान गरिरहेको जनाएको छ । कलौनी परिवारले उनको हत्या गरिएको दाबी गरेका छन् । शनिवार बिहान भीमदत्त नगरपालिका मामा भान्जा चोक नजिक घोप्टो परेको अवस्थामा उनको शव फेला परेको थियो। शुक्रवार राति ९ः३३ बजेसम्मको सिसी टिभी फुटेजमा देखिएका कलौनी त्यसको केही मिटर पर मृत अवस्थामा फेला परेका थिए ।

उनी मृत भेटिएको स्थानमा सिसी टिभीको कभरेज नभएको हुँदा ९ः३३ पछिका विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ । घटना हुनुभन्दा केही समयअघि अस्पतालमा ग्यास्ट्रिकको औषधी लिन गरेको प्रहरीले जनाएको छ । उनको खल्तीमा औषधी पनि भेटिएको छ । ‘चार जना साथीहरू धनगढीबाट आएको देखिन्छ , उहाँ ९मृतक० मदन चोकबाट आफ्नो बाटो लाग्नुहुन्छ । ग्यास्ट्रिकको औषधी लिएर आफ्नो घर जाँदै गर्दा घटना भएको देखिन्छ’ प्रहरी अनुसन्धानमा खटिएका एक अधिकारीले भने, ‘पर्स भेटिएको छ । मोबाइल भेटिएको छैन ।’ शव भेटिएको नजिकै उनको पर्स झरेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक उमेशराज जोशीले समेत जानकारी दिए ।

तर, पर्समा पैसा भने छैन । कलौनीले प्रयोग गर्दै आइरहेको मोबाइल भने अझै फेला नपरेको प्रहरीले जनाएको छ । ‘पर्स झरेको अवस्थामा भेटिएको छ । पर्समा पैसा भने छैन’ प्रहरी नायव उपरीक्षक जोशीले भने, ‘एउटा मोबाइल पनि भेटिएको छैन । हामी मोबाइल खोजी रहेका छौँ ।’ मृतक कलौनीको शरीरमा बाहिरी घाउचोट देखिएको छैन । शवको पोस्टमार्टम पछि भित्री केही कुरा थाहा हुने प्रहरीले जनाएको छ । ‘अहिले महाकाली अस्पतालमा पोस्टमार्टम भइरहेको र त्यसको रिपोर्ट आएपछि केही तथ्यहरू बाहिर आउला’ प्रहरी प्रवक्ता डिएसपी जोशीले भने। भेरी अस्पताल, नेपालगन्जका फरेन्सिक विज्ञहरूको टोलीले पोस्टमार्टम गरिरहेको छ ।