काठमाडौँ । भारतको गुजरातमा आइतबार बिहान तीर्थयात्री सवार बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।
प्रहरीका अनुसार चालकले नियन्त्रण गुमाउँदा आज बिहान सवा चार बजेतिर बस सडकबाट ३५ फुट तल खसेको थियो । बसमा ४८ यात्रु थिए । तीमध्ये दुई महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको र १७ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । अन्य यात्रु सामान्य घाइते छन् ।
घाइतेहरूलाई उपचारका लागि अहवास्थित अस्पतालमा भर्ना गरिएको छ । बस तीर्थयात्रीलाई लिएर गुजरातको द्वारका जाँदै थियो । उनीहरू मध्य प्रदेशका गुना, शिवपुरी र अशोकनगर जिल्लाका थिए ।
शनिबार भारत उत्तर प्रदेशको प्रयागराजमा लागेको कुम्भ मेलाबाट फर्किरहेका नेपाली सवार जिप मधुवनीमा दुर्घटना हुँदा पाँच नेपालीको मृत्यु भएको थियो ।
प्रतिक्रिया