लगातार चौथो हारसँगै उपाधि होडबाट बाहिरियो नेपाल

लगातार चौथो हारसँगै उपाधि होडबाट बाहिरियो नेपाल


काठमाडौँ । काठमाडौँमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा पनि नेपाल पराजित भएको छ । नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएसँगै उपाधि होडबाट समेत बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि रुविना क्षेत्रीले २६ र कविता जोशीले २४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन । थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो । थाइल्याण्डका लागि चनिदा सुथिराङले अविजित २७ तथा थिपाथ्चा पूथावोङले अविजित २५ रन बनाए । नानपत कोन्चारोन्काइले १९ रन बनाइन् ।

५६ मा ६ विकेट गएको अवस्थाबाट चनिदा र थिपाथ्चा मिलेर अविजित अर्धशतकीय पारी खेले । नेपालका लागि मनीषा उपाध्यायले ४ ओभरमा १८ रन दिएर ३ विकेट लिइन् । पूजा महतो र रचना चौधरीले १/१ विकेट लिए । रचनाले नेपालका लागि टी-२०आईमा डेब्यू विकेट लिएकी हुन् ।

नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । शृंखलामा जित्ने सम्भावना कायमै राख्न नेपाललाई यस खेल जित्नैपर्ने दबाब थियो । अब नेपालले बाँकी दुवै खेल जिते पनि उपाधिका लागि पर्याप्त हुनेछैन ।

सबै टोलीले एक अर्कासँग ३-३ खेल खेल्ने शृंखलामा थाइल्याण्डको भने यो लगातार चौथो जित हो । योसँगै थाइल्याण्ड उपाधि होडमा बलियो देखिएको छ ।