काठमाडौं । नेपाली कांग्रेसले पार्टी र नेतृत्वविरुद्ध केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाइएका समाचार र आरोपहरू भ्रामक, तथ्यहीन र सुनियोजित भएको दाबी गरेको छ ।
कांग्रेस सभापति गगनकुमार थापाको सचिवालयले सोमबार विज्ञप्ति जारी गर्दै सरकारका पछिल्ला स्वतन्त्रताविरोधी गतिविधि र घटनाबाट विषयान्तर गर्न प्रतिपक्षी दलमाथि भ्रम र आरोप फैलाइएको जनाएको हो ।
सचिवालयले कांग्रेसको विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्वको आधिकारिकता निर्वाचन आयोग तथा अदालतका निर्णयबाट पुष्टि भइसकेको उल्लेख गरेको छ । साथै, संविधान, प्रचलित कानुन, पार्टी विधान र सर्वोच्च अदालतको आदेशका आधारमा हालै सम्पन्न १५औँ महाधिवेशनले समेत पार्टीको वैधानिक नेतृत्व र निर्णयलाई थप संस्थागत गरेको दाबी गरेको छ ।
सरकार लोकतन्त्र र नागरिक स्वतन्त्रताविरुद्ध अघि बढ्दा कांग्रेसले त्यसको प्रतिवाद गर्ने भएकाले पार्टीविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास भइरहेको सचिवालयको भनाइ छ । यस्तो प्रवृत्ति विगतमा पनि दोहोरिँदै आएको भन्दै उसले अहिलेका भ्रामक समाचारलाई पनि त्यही प्रवृत्तिको निरन्तरताका रूपमा व्याख्या गरेको छ ।
कांग्रेसले लोकतन्त्र, सुशासन, जनसरोकार र विधिको शासनका पक्षमा सरकारका गतिविधिलाई समर्थन गर्ने तर नागरिक स्वतन्त्रता, शक्ति पृथकीकरण, प्रेस स्वतन्त्रता र संवैधानिक सर्वोच्चताविरुद्धका गतिविधिको सशक्त प्रतिवाद गर्ने जनाएको छ ।
विज्ञप्तिमा सभापति थापाले यसअघि पार्टी केन्द्रीय कार्यालयमा व्यक्त गरेको धारणासमेत स्मरण गराइएको छ । बिचौलियासँग सम्बन्धित विषय र त्यसमा जोडिएका सबै प्रकरणको गहिरो, निष्पक्ष तथा प्रमाणमा आधारित अनुसन्धान हुनुपर्ने र दोषी देखिने जोकोहीलाई कानुनी कारबाही गरिनुपर्ने थापाको भनाइ उद्धृत गरिएको छ ।
तर, अनुसन्धान प्रक्रियाको निष्पक्षतामाथि भने कांग्रेसले प्रश्न उठाएको छ । अनुसन्धानमा संलग्न निकायको छापसहितका तथ्य तथा प्रमाण र कथित बयानहरू छानिछानी सार्वजनिक गरिनुले केही प्रमाण लुकाउने वा नष्ट गर्ने प्रयास भएको हुन सक्ने तथा समग्र अनुसन्धान प्रभावित हुन सक्ने आशंका थापाले व्यक्त गरेका थिए ।
सञ्चारमाध्यममा सार्वजनिक भइरहेका विवरणले अनुसन्धान चयनात्मक ढङ्गले अघि बढाइएको हो कि भन्ने आशंका उत्पन्न गरेको भन्दै उनले अनुसन्धानमा संलग्न निकायभित्रकै व्यक्तिहरूको भूमिकाबारे पनि प्रश्न उठाएका थिए ।
कांग्रेसले निष्पक्ष अनुसन्धानबाट आफूहरू पछि नहट्ने स्पष्ट पार्दै अपुष्ट आरोप, राजनीतिक पूर्वाग्रह र भ्रामक प्रचारका आधारमा कसैलाई आरोपित गर्ने प्रवृत्ति स्वीकार्य नहुने जनाएको छ । अनुसन्धानलाई निष्पक्ष बनाउन पार्टीको संसदीय दलले निर्णयसमेत गरिसकेको सचिवालयले उल्लेख गरेको छ ।
सचिवालयले सम्बन्धित सबै पक्षलाई प्रमाण र तथ्यका आधारमा जिम्मेवार ढङ्गले विषय प्रस्तुत गर्न तथा आमनागरिकलाई अपुष्ट सूचनाका आधारमा भ्रममा नपर्न आग्रह गरेको छ ।

प्रतिक्रिया