काठमाडौं । पूर्वप्रधानन्याधीशको मोबाइल जाँच गर्दा फेला परेका र चौतर्फी चर्चामा रहेका शङ्कास्पद पात्र तथा ‘बिचौलिया’ भनिएका इनाम सापकोटासँग मन्त्रीहरू र चलचित्र निर्देशक निश्चल बस्नेतका तस्बिरहरू सामाजिक सञ्जालमा भाइरल भएपछि राजनीतिक र फिल्मी वृत्तमा खैलाबैला मच्चिएको छ।
हालका मन्त्रीहरू विराजभक्त श्रेष्ठ र सस्मित पोखरेल तथा रास्वपा निकट निर्देशक निश्चल बस्नेतसँग ती युवकको अङ्कमालसहितको तस्बिर सार्वजनिक भएपछि इनामलाई सुरुदेखि नै बालेन गिरोहले परिचालित गरेको आरोप एमाले नेता सूर्य थापाले लगाएका छन्।
सूर्य थापाले “बालेन गिरोह नै बिचौलियाको घेराबन्दीमा फसेको” भन्दै कडा प्रहार गरेका छन् भने सामाजिक सञ्जालमा समेत चर्को आलोचना भएपछि निर्देशक निश्चल बस्नेतले मुख खोल्दै “चिन्नु न जान्नु, जोसुकैले फोटो खिचाउँदा नाता जोड्ने प्रवृत्ति गलत भएको” दाबी गरेका छन्। सुशासन र नयाँपनको चर्को नारा दिने शासकहरूको फेरबहादुर र बिचौलियाहरूसँगको कनेक्सन छताछुल्ल हुँदा बालेन सरकार र उसका समर्थकहरू थप चौतर्फी घेराबन्दीमा परेका छन्।

प्रतिक्रिया