काठमाडौँ। बिहीबार प्रतिनिधि सभा र राष्ट्रिय सभामा अध्यादेश स्वीकृत गर्ने विषय कार्यसूचीमा छ ।
दुवै सभाबाट अध्यादेश स्वीकृत गराएर प्रतिस्थापन विधेयक ल्याउने सरकारको तयारी छ । तर, राष्ट्रिय सभामा अध्यादेश स्वीकृतका लागि आवश्यक संख्या सत्तारुढ दललाइ पुर्याउन नदिने कसरतमा विपक्षी दलहरू छन् ।
राष्ट्रिय सभामा रहेका दलहरूले बिहीबारको बैठकमा अनिवार्य उपस्थित हुनका लागि सांसदहरूलाई भनेका छन् । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेस पनि अध्यादेश स्वीकृत गर्नका लागि आवश्यक संख्या पुर्याउन अन्य दलहरूसँग आन्तरिक छलफलमा छ ।
राष्ट्रिय सभामा काँग्रेस संसदीय दलका नेता कृष्ण सिटौला अध्यादेश अस्वीकृत भएको संसदीय इतिहास नेपालसँग नरहेको बताएका छन् ।
बिहीबार पनि राष्ट्रिय सभामा अध्यादेश स्वीकृतिका लागि प्रस्तुत हुँदा आवश्यक संख्या पुग्ने उनको विश्वास छ ।
५९ सदस्यीय राष्ट्रिय सभामा सबै सांसद उपस्थित भएको खण्डमा अध्यादेश स्वीकृतिका लागि ३० जना सांसद आवश्यक पर्छ । सरकारमा रहेका दलहरूसँग काँग्रेस (१६), नेकपा एमाले (१०) र लोकतान्त्रिक समाजवादी पार्टी (१) गरेर २७ जना सांसद छन् ।
मनोनीत सांसद डा. अन्जान शाक्य नेकपा एमाले समर्थित हुन् । उनलाई जोड्दा सत्तापक्षको सांसद संख्या २८ पुग्छ । अर्का मनोनीत सांसद बामदेव गौतमले पनि अध्यादेश स्वीकृतिका लागि मत दिने सत्तारुढ दलहरूको विश्वास छ ।
जनता समाजवादी पार्टी नेपालका तीन जना सांसदले समेत मत दिनेछन् र अध्यादेश स्वीकृतिको पक्षमा ३२ जना सांसद पुग्नेछन् ।
प्रतिक्रिया