काठमाडौं । साउदी अरेबियाका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारमाथि बुधबार संसदीय सुनुवाइ समितिमा सांसदहरूले आधा दर्जनभन्दा बढी गम्भीर आरोप लगाएका छन्। महिला हिंसा, आर्थिक अपचलन र जर्मनीबाट डिपोर्ट भएको लगायतका आरोप सुनारमाथि केन्द्रित भएका छन्।
समितिमा विभिन्न दलका सांसदहरूले सुनारको चरित्र, नैतिकता र विगतका क्रियाकलापमाथि प्रश्न उठाए। सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद गजला शीमम मिकरानीले भनिन्, “सुझावलाई स्वीकार गरेर अघि बढ्नुहुन्छ भने म प्रश्न गर्दिन। एक महिलालाई आत्महत्याको तहमा पुर्याउनुभयो भन्ने छ। निर्दोष हो भने प्रहरीमा मिलापत्र किन गरेको ? ”
नेपाली कांग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले सुनारले घरमा श्रीमती हुँदाहुँदै बाहिर प्रेम गरेर लाजमर्दो काम गरेको आरोप लगाए। “सम्बन्ध बिच्छेद गरेर प्रेम गर्नुपर्यो। तपाईंको चरित्रमा प्रश्न उठेको छ। हामीमाथि प्रश्न उठ्छ, छानबिन गर्नुपर्छ,” उनले भने।
नेकपाका सांसद नरबहादुर विष्टले हिंसाबारे पत्रपत्रिकामा लेख लेख्ने तर घरमा महिलामाथि हिंसा गरेको आरोप लगाए। “हिंसाबारे लेख्नुभयो, घरमा हिंसा गर्नुभयो। १३ वर्षअघिका कुरा घरेलु हिंसा भएको पुष्टि तपाईंले गर्नुभो,” विष्टले भने।
रास्वपाकी सांसद पुनमकुमारी अग्रवालले सुनारलाई राजदूत पद छाड्न आग्रह गरिन्। “उहाँले जति प्रमाण दिए पनि अडियो, भिडियोको प्रुफ कट्दैन। मेरो सल्लाह, क्वीट गर्नुभयो भने राम्रो। हामी उजुरी खोल्न तयार छौँ। कतैबाट पनि उच्च नैतिकता जस्टिफाई हुँदैन,” अग्रवालले भनिन्। रास्वपाका सांसद दीपकराज बोहराले विवादस्पद छवि हुँदाहुँदै राजदूतका लागि आवेदन दिएकोमा आपत्ति जनाए भने कविन्द्र बुर्लाकोटीले संसदीय सुनुवाइमा विगतका कुरा पनि उठ्ने बताए। एमालेकी सांसद पद्मा अर्यालले सुनारले तपोवनमा प्रेम सम्बन्ध स्वीकार गरेको र श्रीमती घरमा हुँदा परस्त्रीसँगको सम्बन्धलाई महिला हिंसा भएको प्रश्न गरिन्। “निवेदनको आधारमा भन्दा– तपाईं जस्तो मान्छे राजदूत कसरी बन्न सक्छ ? निर्देशिकाले पनि दिँदैन,” अर्यालले भनिन्।
रास्वपाका सांसद मधुकुमार चौलागाईंले ललितपुर प्रहरीमा घरेलु हिंसाको आरोप, करोडौं असुली र जर्मनीबाट डिपोर्ट भएको विषय उठाए। उनले सुनारलाई ‘हाम्रो नेपाल पार्टी’को आबद्धता तोडेको हो वा होइन स्पष्ट पार्न पनि आग्रह गरे।
नेकपाका सांसद वर्षमान पुनले महिलाको अस्मिता र टर्चरको कुरा आएपछि सुनारलाई सरकारलाई धन्यवाद दिएर पद छाड्न आग्रह गरे। “महिला रुनुभयो। आफ्नो अस्मिताको कुरा उठाउनुभयो। टर्चर भएको कुरा आयो। तपाईं क्वीट गरिदिनुस्,” पुनले भने। सुनारले यसअघि महिला हिंसाको आरोप अस्वीकार गर्दै आफू हिंसाविरुद्ध जनचेतना फैलाउने व्यक्ति भएको दाबी गरेका छन्। १३ वर्षअघिको प्रेम सम्बन्ध स्वीकार गरे पनि त्यो सकिएको र फोनमा भनाभन मात्र भएको बताएका छन्। उनले नाम फिर्ता नलिने अडान लिएका छन्। समितिले सुनारविरुद्धका उजुरीबारे ललितपुर प्रहरी र अध्यागमन कार्यालयबाट कागजात मागिसकेको छ।

प्रतिक्रिया