काठमाडौं । बिमस्टेक गृहमन्त्रीस्तरीय पहिलो बैठकमा भाग लिन भारत पुगेका नेपालका गृहमन्त्री सुदन गुरुङले भारतीय समकक्षी अमित शाहसँग भेटवार्ता गरेका छन्। गृहमन्त्री गुरुङले सामाजिक सञ्जालमा दुवै मन्त्री हात मिलाएको तस्बिरसहित लेखेका छन्, “आतंकवाद, मानव बेचबिखन, लागुऔषध तस्करी, सम्पत्ति शुद्धीकरण र साइबर अपराधजस्ता अन्तरदेशीय चुनौतीहरू बढिरहेको अवस्थामा हाम्रो भावी पुस्ताको सुरक्षित भविष्यका लागि पहिलो बिमस्टेक गृहमन्त्रीस्तरीय बैठक अत्यन्तै महत्वपूर्ण थियो।”
उनले बैठकमा नेपालको तर्फबाट अपराधविरुद्धको सहकार्य सीमाभन्दा बलियो र अपराधीको गतिभन्दा छिटो हुनुपर्ने मान्यता स्पष्ट रूपमा राखेको बताए। यसका लागि प्रभावकारी सूचना आदानप्रदान, प्रविधिको उपयोग र संयुक्त क्षेत्रीय पहल अपरिहार्य रहेको उनको भनाइ छ। गृहमन्त्री गुरुङले प्राकृतिक विपत्तिले सीमा नचिन्ने यथार्थलाई ध्यानमा राख्दै बिमस्टेकअन्तर्गत क्षेत्रीय विपद् पूर्वतयारी तथा प्रतिकार्य संयन्त्र र संयुक्त कार्यदल गठन गर्ने नेपालको प्रस्ताव अघि सारेको जानकारी दिए।
बैठकका दौरान भारतीय गृहमन्त्री अमित शाहसँग साझा सुरक्षा चासोका विषयमा छलफल भएको थियो। दुवै गृहमन्त्रीहरूले द्विदेशीय सुरक्षाका आयामिक र नवीनतम मामिलाहरूमा आपसी समन्वय र सहकार्य प्रवर्द्धन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। भेटका अवसरमा गृहमन्त्री गुरुङले नेपाली उद्योगी तथा व्यापारीहरूले भारतीय बजार पहुँचका लागि सामना गर्नुपरेका चुनौतीहरू र भारतमा रहेका प्रवासी नेपालीहरूले भोग्नुपरेका समस्याका विषयमा पनि छलफल गरेका थिए। भारतीय पक्षबाट यी विषयमा आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाइएको उनले उल्लेख गरेका छन्।
बिमस्टेक सदस्य राष्ट्रहरूबीच सुरक्षा सहयोग सुदृढ बनाउने उद्देश्यले आयोजित यो पहिलो गृहमन्त्रीस्तरीय बैठकमा नेपालले सक्रिय भूमिका निर्वाह गरेको छ।

प्रतिक्रिया