काठमाडौं । राजबहादुर सानेको निर्देशनमा बन्ने सिनेमा ‘गंगा रानी’मा बुद्धि तामाङ, रवीन्द्र झा र आशुतोष झा अनुबन्धित भएका छन् । निर्देशक सानेले सिनेमामा एकसाथ तीन कलाकार अनुबन्धित भएको जानकारी दिएका हुन् ।
यसअघि सिनेमाको मुख्य भूमिकामा अभिनेत्री वर्षा शिवाकोटी र नव कलाकार रोशन केसी अनुबन्धित भइसकेका छन् । उनीहरू सिनेमाको मुख्य भूमिकामा देखिनेछन् ।
सिनेमा आगामी मंसिरदेखि छायांकन सुरु गर्ने तयारी रहेको निर्देशक सानेले बताएका छन् । निर्देशक साने स्वयंको लेखन तथा निर्देशन रहने सिनेमाका निर्माता कमलप्रसाद शर्मा हुन् ।
सिनेमामा गरिब युवक र धनी युवतीबीचको प्रेमकथा प्रस्तुत गरिने निर्देशक सानेले बताए ।
निर्देशक सानेले यसअघि ‘लज्जावती’, ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेण्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ जस्ता सिनेमा निर्देशन गरिसकेका छन् ।

प्रतिक्रिया