काठमाडौं । चलचित्र ‘कबड्डी ५ः आफ्टर द फाइनल म्याच’ को ट्रेलर सार्वजनिक भएको १५ घण्टामै युट्युबको मुभिजतर्फ ट्रेन्डिङ नम्बर १ मा उक्लिएको छ ।
ट्रेलरले करिब साढे ७ लाख भ्युज पाइसकेको छ । ट्रेलरप्रति दर्शकले सकारात्मक प्रतिक्रिया दिइरहेका छन् । विशेषगरी निर्देशक रामबाबु गुरुङ, काजीको भूमिकामा देखिएका दयाहाङ राई र नयाँ पात्रका रूपमा जोडिएका विपीन कार्कीको अभिनय तथा प्रस्तुतिलाई दर्शकले रुचाएका छन् ।
ट्रेलरमा विपीन कार्कीको नयाँ अवतारले दर्शकको ध्यान खिचेको छ । उनको भूमिकाबारे दर्शकमा उत्सुकता देखिएको छ । त्यस्तै, दयाहाङ राईको काजी पात्रको वैवाहिक जीवन, मैयासँगको सम्बन्ध र त्यसमा आउने उतारचढावले पनि कथाप्रति जिज्ञासा बढाएको छ ।
ट्रेलरमा बेरोजगारीबाट दिक्क भएका काजी, बीके र छन्त्यालले मुस्ताङमा ‘शान्ति होटल’ सञ्चालन गर्न थालेपछि कथाले नयाँ मोड लिएको देखिन्छ । सिर्जना गुरुङ नयाँ मैयाका रूपमा प्रस्तुत भएकी छन् भने मिरुना मगर शान्ति मिसको भूमिकामा देखिएकी छन् । विपीन कार्कीको प्रवेशलाई पनि ट्रेलरको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिएको छ ।
हास्य, पारिवारिक उतारचढाव, सम्बन्धमा आउने ट्विस्ट र एक्सन समेटिएको ट्रेलरले ‘कबड्डी’ शृङ्खलाको पुरानो स्वादसँगै नयाँपन दिने संकेत गरेको छ । ट्रेलरले दर्शकमाझ काजीको जीवनमा आउने नयाँ परिस्थितिले कथालाई कुन दिशामा लैजान्छ भन्ने जिज्ञासा सिर्जना गरेको छ ।
रामबाबु गुरुङको लेखन तथा निर्देशनमा बनेको चलचित्र यही असोज ३० गतेदेखि देशभर प्रदर्शनमा आउनेछ । चलचित्रमा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देललगायत कलाकारको अभिनय छ ।
बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रमा रामबाबु गुरुङ, मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी)को लगानी छ । सागर राज कार्यकारी निर्माता रहेको चलचित्रमा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत, सञ्जय लामाको छायांकन तथा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
नेपालमा चलचित्रको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ ।

प्रतिक्रिया